जीतपुरसिमरा गोल्डकप

एपिएफलाई हराउँदै पुलिस फाइनलमा

सिमरा  । नेपाल एपिएफ क्लबविरुद्ध ३-२ को जित निकाल्दै नेपाल पुलीस क्लब जीतपुरसिमरा गोल्डकपको १४औं संस्करणमा फाइनल प्रवेश गरेको छ ।

बाराको सिमरा रंगशालामा  शनिबार सम्पन्न खेलको ४७ सकेन्डमै आशिष राईको गोलमार्फत पुलिसले अग्रता लियो । आशिषले उज्वल राइको क्रसलाई  पोस्टको दिशा दिए ।

रामभचन्द्र वाजीले खेलको २०औं मिनेटमा पुलिसको अग्रता दोबर बनाए । यसपटक पनि उज्वलले नै गोलको अवसर सिर्जना गरे ।

 एपिएफका प्रदीप लामाले ४२औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । प्रदीपले बुद्धिमान राईको पासलाई जाली चुमाए । ६१औं मिनेट युवाराज लामाले एसिएफलाई २-२ को बराबरीमा ल्याए ।

युवराजले अनिश महर्जनको पासमा वन भर्सेस वनको स्थितीको फाइदा उठाउदै गोल गरे ।  निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा सुजन मगरले गोल गर्दै पुलिसलाई ३-२ को रोमाञ्चक जित दिलाए ।

पृथ्वी चौधरीको पासमा सुजनको पहिलो प्रहार एपिएफका गोलरक्षक एन्जल श्रेष्ठले बचाउने प्रयास गरेका थिए तर रिबाउन्डमा सुजनले सुन्दर गोल गरे ।

खेलको अन्तिम इन्जुरी समयमा एपिएफ १० खेलाडीमा सिमित भयो । एपिएफका विश्वास उदासले पुलिसका खेलाडीसंग विवाद गर्न थालेपछि रेफ्री उमेश विंडारीले उनलाई रातो कार्ड देखाए ।

पुलिसले उपाधिका लागि मछिन्द्र  फुटबल क्लबको सामना गर्नेछ । मछिन्द्रले सिराहाको सलहेश युवा क्लबलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।