अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

बंगलादेशविरुद्ध अस्ट्रेलियाको ‘क्लिन स्विप’

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको महिला अन्तर्राष्ट्रिय  ट्वान्टी २० शृंखलामा अस्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।

मिरपुरस्थित शेर बंगाल राष्ट्रिय रंगशालामा बिहीबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलिया ७७ रनले विजयी भयो । जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखला ३-० ले आफ्नो पक्षमा पार्यो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.१ ओभरमा ७८ रनमै समेटियो । बंगलादेशका लागि निगर सुल्तानाले ३२, दिलरा अख्तरले १२, फहिमा खातुनले ११ र ऋतु मोनीले १० रन बनाए ।

अस्ट्रेलियाका लागि ताइला भ्लिमिंकले तीन, जर्जिया वरेहमले दुई तथा मेगन स्कट, एलिस पेरी, सोफी मोलिनेयुक्स, एश्लेग गार्डनर र एनाबेल सदरल्यान्डले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पार्यो । अस्ट्रेलियाका लागि कप्तान एलिस हेलीले ४५, ताहिल्या म्याकग्रेथले अविजित ४३, ग्रेस ह्यारिसले १९, एश्लेग गार्डनरले १६ र बेथ मोनीले १० रन बनाए ।

छैटौं विकेटका लागि म्याकग्रेथ र ह्यारिसले ५७ रनको साझेदारी गरे । बंगलादेशका लागि नाहिदा खख्तरले तीन तथा शोरिफा खातुन र राबिया खानले समान एक विकेट लिए ।

यसअघि अस्ट्रेलिया १० विकेट र ५८ रनले विजयी भएको थियो ।