एसएमएस फ्रेन्डसिप कप

फाइनल पुग्ने लक्ष्यमा नेपाल

फाइल तस्विर

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा बुधबार आयोजक गुजरात क्रिकेट संघको सामना गर्दा नेपाल लगातार तेस्रो जितसहित फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा दिउँसो २ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले गुजरातलाई आठ विकेट र बरोडा क्रिकेट संघलाई २७ रन हराएको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाललाई कुशल मल्ल, सन्दीप जोरा, करण केसी, सोमपाल कामी जस्ता खेलाडीको साथ रहनेछ । बरोडाविरुद्ध कुशलले ४० रन बनाउँदा करणले तीन विकेट लिएका थिए ।

उमंग कुमारको कप्तानीमा रहेको गुजरात रुद्र पटेल, आर्य देसाइ, जय मलुसरे, हेमान्ग पटेल जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । बरोडाविरुद्ध रुद्रले ७० रन बनाउँदा जयले तीन विकेट लिएका थिए ।