एसएसएस फ्रेन्डसिप कप

गुजरातविरुद्ध नेपालको सहज जित

काठमाडौं । नेपालले एसएसएस  फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । नेपालले वापीमा आइतबार आयोजक गुजरात क्रिकेट संघलाई आठ विकेटले पराजित गर्यो ।

गुजरातले प्रस्तुत गरेको ९९ रनको लक्ष्य नेपालले १५.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ३३, अनिलकुमार साहले अविजित ३२, कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन बनाए ।

गुजरातका लागि हेमान्ग पटेल र तेजस पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पार्यो ।

गुजरातका लागि रुद्र पटेलले २३, हेमान्ग पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाए ।

नेपालका लागि गुल्सन झाले चार ओभरमा २२ रन खर्चिदै चार विकेट लिए । यसैगरी करण केसीले तीन र सोमपाल कामीले एक विकेट लिए ।  

अब नेपालले दोस्रो खेलमा मंगलबार बरोडा क्रिकेट संघको सामना गर्नेछ ।