बंगलादेश- श्रीलंका

पहिलो टेष्टमा श्रीलंका ३२८ रनले विजयी

काठमाडौं । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेष्टमा श्रीलंका तीन सय २८ रनले विजयी भएको छ । धनञ्जय डि सिल्भा र कामिन्दु मेन्डिसको सतकीय इनिङ्ससँगै श्रीलंकाले पहिलो टेष्ट कब्जा गरेको होे ।

दोस्रो इनिङ्समा पाँच सय ११ रनको लक्ष्य पाएको बंगलादेशले मात्र एक सय ८२ रन बनाउ सक्यो । मोमिनुल हकले ८७ रन बनाउनु बाहेक अन्य खेलाडीले ठूलो स्कोरमा रन बनाउन सकेनन् ।

मेहिदी हसन मिराजले ३३ रनको योगदान गरे । श्रीलंकाका कासुन राजिथाले पाँच विकेट लिएपछि बंगलादेशको ब्याटिङक्रम धरासायी भएको हो । विश्व फर्नान्डोले तीन र राहिरु कुमाराले दुई विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले दुई सय ८० रन बनाएको थियो । कप्तान सिल्भा र मेन्डिस दुबैले सतक बनाउँदै श्रीलंकाको इनिङ्स उकासेका हुन् । पहिलो इनिङ्समा जवाफी ब्याटिङमा आएको बंगलादेश एक सय ८८ मै अल आउट भयो ।

दोस्रो इनिङ्समा पनि डि सिल्भाले एक सय ८ र कामिन्दु मेन्डिसले एक सय ६४ साथै ओपनर दिमुथ करुनारत्नेले ५२ रन बनाएपछि श्रीलंकाले ५११ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

पहिलो टेष्टमा दुई सय दश रन बनाएका कप्तान डि सिल्भा नै प्लेयर अफ दि म्याच घोषित भएका हुन् ।

अब, दोस्रो टेष्ट चितोग्राममा अप्रिल तीनमा सुरु हुनेछ । यसअघि भएको तीन खेलको एकविदसीय शृंखला बंगलादेशले २–१ ले जितेको थियो । ट्वान्टी २० शृंखला भने श्रीलंकाले २–१ ले जित्यो ।