इन्डियन प्रिमियर लिग २०२४

दिनेश कार्तिक चम्किदा आरसिबीको पहिलो जित

काठमाडौं । अन्तिम ओभरमा दश रन चाहिएको अवस्थामा दिनेश कार्तिकले आक्रामक ब्याटिङ गर्दै रोयल च्यालेन्जर्स बैंगलूरु (आरसिबी)लाई इन्डियन प्रिमियर लिग (आईपिएल)मा पहिलो जित दिलाएका छन् । सोमबार राति भएको खेलमा आरसिबीले पञ्जाव किङ्सलाई चार विकेटले हरायो ।

आरसिबीको जितमा कार्तिकले १० बलमा तीन चौका र दुई छक्कासहित २८ रनको योगदान गरेका थिए । त्यसअघि सुरुवाती ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको आरसिबीले १९.२ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७८ रन बनाएको हो ।

आरसिबीले प्रतियागितामा पहिलो जित निकालेको छ । उसको दुई खेलबाट दुई अंक छ । पहिलो खेलमा आरसिबी चेन्नई सुपर किङ्ससँग ६ विकेटले पराजित भएको थियो ।

पञ्जावको भने यो पहिलो हार हो । पहिलो खेलमा दिल्ली क्यापिटललाई चार विकेटले हराएको थियो ।

आरसिबीको जितमा ओपनर विराट कोहलीले ४९ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ७७ रन बनाएका हुन् ।

माहिपाल लोमरोलले १७ र रजत पटिदारले १८ रनको योगदान गरे । पञ्जावको लागि कागिसो रविडा र हरप्रित ब्रारले सर्वाधिक समान दुई विकेट हात पारे ।

यसअघि बेंगलूरुमा पञ्जावले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसको लािग कप्तान तथा ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाएका थिए ।

यसबाहेक प्रभसिमरान सिंहले २५, जितेश शर्माले २७, साम करनले २३ र शशांक सिंहले २१ रनको योगदान गरे । आरसिबीका मोहम्मद सिराज र ग्लेन म्याक्स्वेलले समान दुई विकेट हात पारे ।