अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला

पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी

काठमाडौं । अस्ट्रेलियाले महिला अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा घरेलु टोली बंगदेशमाथि ११८ रन फराकिलो जित निकालेको छ ।

जितसँगै अस्ट्रेलियाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

मिरपुरस्थित शेर बंगाल राष्ट्रिय रंगशालामा अस्ट्रेलियाले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको बंगलादेश ३६ ओभरमा ९५ रनमै समेटियो ।

बंगलादेशका लागि कप्तान निगर सुल्तानले २७, शोभना मोस्तारी १७ र मुर्शिदा खातुनले १० रन बनाउनु बाहेक अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि एश्लेग गार्डनरले तीन, किम गार्थले दुई तथा मेगन स्कट र एलना किंगले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्यो ।

अस्ट्रेलियाका लागि इनाबेल सदरल्यान्डले ७६ बलमा पाँच चौकाको मद्दतले अविजित ५८ रनको योगदान गरिन् । यसैगरी एलान किंगले अविजित ४६, एश्लेग गार्डनरले ३२, बेथ मोनीले २५, कप्तान एलिस हेलीले २४ र जर्जिया वारेहमले १२ रन बनाए ।

बंगलादेशका लागि सुल्ताना खातुन र नाहिदा अख्तरले समान दुई तथा शोर्ना अख्तर, फहिमा खातुन र मारुफा अख्तरले समान एक विकेट लिए ।