स्पोर्टस युनिभर्स

स्पोर्टस युनिभर्सले खेलाडीलाई छुट दिने

काठमाडौं । बानेश्वरस्थित स्पोर्टस युनिभर्सले आफ्नो १०औं वार्षिकोत्सवको उपलक्ष्यमा खेलाडीलाई खेल सामाग्री खरिदमा २० प्रतिशत छुट दिने भएको छ ।

त्यसका लागि स्पोर्ट्स युनिभर्स र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच बिहीबार सम्झौता भएको छ । स्पोर्टस युनिभर्सका निर्देशक किशोरकुमार जोशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

छुट पाउनका लागि खेलाडीले खेलाडी संघमा सम्पर्क गरी फाराम भर्नु पर्नेछ । सो फारामका आधारमा संघले कार्ड उपलब्ध गराउने छ । सोही कार्डका आधारमा खेलाडीले २० प्रतिशत छुट पाउने छन् ।

खेल सामाग्री र पोशाक खरिद गर्दा खेलाडीले छुट पाउने निर्देशक जोशीले बताए । बैशाख १ गतेदेखि लागू हुने सम्झौता एक वर्षका लागि कायम रहनेछ ।

सोही अवसरमा खेलाडी संघको आयोजनामा चैत १२ गते हुने १८औं एनएनआइपिए स्पोर्टस अवार्डका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभाशाली खेलाडी, गजराज जोशी खेल व्यक्तित्व, पारा खेलाडी र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार विजेतालाई पनि स्पोर्टस युनिभर्सले गिफ्ट ह्याम्पर प्रदान गरिने जानकारी गराइयो ।