ग्रेग बार्कले

आइसिसी अध्यक्ष बार्कलेलाई प्रधानमन्त्री प्रचण्डले भनेः ‘सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेको छ’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष  ग्रेग बार्कलेबीच शिष्टाचार भेटबार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसिसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए ।

‘नेपाल सरकारले क्रिकेट रंगशाला राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को यु-१९ महिला विश्वकपका लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसिसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

यसैगरी अध्यक्ष बार्कलेले नेपालको क्रिकेट विकाशका लागि आइसिसीले सहयोग गर्ने बताए ।

भेटमा नेपाल सरकारका मुख्य सचिव डा बैकुण्ठ अर्याल,नेपाल क्रिकेट संघ ( क्यान) का अध्यक्ष चतुरबहादु चन्द, सचिव पारस खड्का, उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का माहप्रवन्धक उत्सव ढुङ्गाना र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको उपस्थिति थियो ।