नेरी थापा

पूर्व कप्तान नेरीको संन्यास

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापा मगरले अन्तर्राष्ट्रिय र घरेलु  क्रिकेटबाट संन्यासको घोषणा गरेकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो १७ वर्षको करिअरलाई विश्राम दिने निर्णय लिएकी हुन् ।

बाँकेमा जन्मिएकी नेरीले सन् २००७मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी जनाउँदा टोलीको कप्तानी गरेकी थिइन् । उनको कप्तानीमा नेपाल एसिसी वुमन्स प्रतियोगिता फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

पछिल्लो समय भने उनी टोलीमा थिइनन् । एपिएफबाट घरेलु क्रिकेट खेल्दै राम्रो अलराउन्ड प्रदर्शन गरेपनि फिटनेश र युवा खेलाडीलाई प्राथमिकतामा राख्दा उनले मौका पाउन सकेकी थिइनन् ।

नेरीले २००७ देखि २०१९ सम्म नेपाली टोलीमा लगातार खेलेकी थिइन् । सन् २००८ र २०१० मा नेपालले एसिसी यु १९ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको थियो ।

उनले अन्तिम पटक २०११ मा कुवेतमा भएको एसिसी वुमन्स ट्वान्टी -२० प्रतियोगितामा नेपालको कप्तानी गरेकी थिइन् ।