पाकिस्तान सुपर लिग

इस्लामाबाद च्याम्पियन

काठमाडौं । मुल्तान सुल्तानमाथि दुई विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामाबाद युनाइटेड पाकिस्तान सुपर लिग (पिसएल) को च्याम्पियन बनेको छ ।

इस्लामाबाद को यो तेस्रो पिएसएल उपाधि हो । यसअघि इस्लामाबाद सन् २०१६ र २०१८ मा पनि च्याम्पियन बनेको थियो ।

कराचीस्थित नेस्नल क्रिकेट रंगशालामा सोमबार राति मुल्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य इस्तामाबादले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।

इस्तामाबादका लागि मार्टिन गप्टिलले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी अजाम खानले ३०, इमाद वासिमले अविजित १९, कोलिन मुनरो र नसिम शाहले समान १७ र आगा सलमानले १० रन बनाए ।

चौथो विकेटका लागि गप्टिल र खानले ४७ रनको योगदान गरे । मुल्तानका लागि खुसदिल शाह र इफ्तिखर अहमदले समान दुई तथा डेविड विली, मोहम्मद अली र उस्मान मिरले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुल्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो ।

मुल्तानका लगि उस्मान खानले ४० बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी इफ्तिखर अहमदले अविजित ३२, कप्तान मोहम्मद रिजवानले २६ र खुसदिल शाहले ११ रन बनाए ।

तेस्रो विकेटका लागि रिजवान र खानले ५० रनको साझेदारी गरे । इस्तामाबादका लागि इमाद वासिमले चार ओभरमा २३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी शदाब खानको नाममा तीन विकेट रह्यो ।