कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीको सेमिफाइनल समिकरण पूरा

बागमती र पुलिस प्रतिस्पर्धा गर्दै ।

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।  

समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब विजेता तथा कर्णाली प्रदेश समूह उपविजेता तथा समूह ‘बी’ बाट लुम्बिनी विजेता र सुदूरपश्चिम प्रदेश उपविजेताका रूपमा सेमिफाइनल पुगे ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बिहीबारको पहिलो खेलमा मधेश प्रदेशले एपिएफलाई २१ ले पराजित गरे पनि कर्णालीसँग रन रेटमा पछि पर्दा समूह चरणबाटै बाहिरियो ।

मधेशले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको एपिएफ २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो ।

एपिएफका लागि सुमित महर्जनले २९ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी भुवन कार्कीले अविजित १२ रन, आयुमान बमले १२ र पुरन बिकले १० रन बनाए ।

मधेशका लागि राजेश यादवले तीन,अर्निको यादवले दुई र रञ्जित कुमालले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पार्यो ।

मधेशका लागि विशाल सुस्लिङले ३३ बलमा समान चार चौका र छक्काको मद्दतले अविजित ५४ रनको योगदान गरे । यसैगरी पवन सराफले २५, अविशेक तिवारीले १९ र विशाल पटेलले १६ रन बनाए ।

एपिएफका लागि कप्तान भुवन कार्की र पुरन विकले समान तीन तथा अमरसिंह रौटेला र यज्ञमान कुमालले समान एक विकेट लिए ।

दिनको दोस्रो खेलमा बागमती प्रदेशले  विभागीय टोली नेपाल पुलिस क्लबलाई ३३ रनले पराजित गर्यो ।

हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । यदी पुलिसले १२.५ ओभरमामा जित निकालेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनलको यात्रा तय गर्ने थियो ।

बागमतीले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा १४० रनमे समेटियो । पुलिसका लागि रोहन विकले ४३, शंकर रानाले २७ र सुनिल दौल्यारले अविजित २६, अविशेक कार्कीले १५ र ललित भण्डारीले १४ बनाए ।

बागमतीका लागि कृजन गुरुङले चार, तिलक भण्डारी र इशान पाण्डेले समान दुई तथा दीपेश श्रेष्ठले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७३ रनको योगफल तयार पार्यो ।

बागमतीका लागि इशान पाण्डेले ५० बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ७४ रनको योगदान गरे । यसैगरी रविन जोशीले २७, शुभ कन्साकारले २६ र कप्तान रित गौतमले २४ रन जोडे ।

पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान दुई तथा शरद भेषवाकर र ललित भण्डारीले समान एक विकेट लिए ।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा आर्मी र सुदूरपश्चिम तथा दोस्रो सेमिफाइनलमा लुम्बिनी र कर्णाली प्रदेश भिड्ने छन् ।