आइसिसी

आइसिसीका अध्यक्ष बार्कले नेपाल भ्रमणमा आउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) काअध्यक्ष ग्रेग बार्कलेले मार्च १८ देखि २१ सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटमा थप अवसरको सिर्जना गर्न र विकासलाई गति दिन बार्कलेको भ्रमण महत्त्वपूर्ण हुने बताएको छ ।

यसक्रममा बार्कलेले कीर्तपुरस्थित त्रिवि र मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नेछन् । यससँगै प्रधानमन्त्री, अर्थ मन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल हुनेछ ।

बार्कलेले नेपाल भ्रमणका लागि आफू उत्साहित रहेको बताएका छन् । ‘म नेपालमै आएर यहाँको क्रिकेट विकास हेर्न उत्साहित छु । क्यानले क्रिकेटमा सहभागिता र चर्चा बढाउन राम्रो भूमिका खेलेको छ । पुरुष टोली विश्वकप छनोट हुनु यसको राम्रो उदाहरण हो,’ बार्कलेले भनेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले बार्कलेको भ्रमणलाई लिएर उत्साहित रहेको र यसले नेपाली क्रिकेटलाई फाइदा पुर्याउनेमा आशावादी रहेको बताए । 

लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका थिए ।