कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः आर्मी सेमिफाइनलमा

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा  मंगलबार  त्रिभुवन आर्मी क्लब र बागगमती प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई पाँच विकेटले पराजित गर्यो । जितसँगै आर्मीले सेमिफाइनलमा स्थान बनायो  ।

लगातार तेस्रो जित निकालेको आर्मी ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पराजित कोशी समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।

कोशीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। आर्मीका लागि त्रितराज दासले ३२ बलमा चार छक्का र दुई छक्काको मद्दतले सर्वाधिक ३५ रनको योगदान गरे । सन्तोष कार्कीले २४ रन जोडे ।

कोशीका लागि श्रवण यादव र ज्ञानेन्द्र श्रेष्ठले समान दुई विकेट लिए ।

त्रितराज दास

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रनको योगफल तयार पार्यो । कोशीका लागि दिपेश कँडेलले ३६ बलमा समान दुई चौका र छक्काको मद्दतले अविजित ४० रनको गोगदान गरे । यसैगरी श्रवण यादवले २९ रनमा अविजित रहे ।

दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । जितसँगै बागमती समुह ‘बी’ मा तीन खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । गण्डकीले खेलेको चारै खेलमा पराजित अंकविहिन बनेको छ ।

गण्डकीले प्रस्तुत गरेको १५१ रनको लक्ष्य बागमतीले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि रामनरेश गिरीले २७ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे ।

यसैगरी रविन जोशीले अविजित ३२, आशुतोष घिरैयाले २९ र कप्तान रित गौतमले २० रन बनाए ।

गण्डकीका सुवास भण्डारीले तीन तथा सन्दिप पराजुली र अविशेक थापाल समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५० रनको योगफल तयार पार्यो । गण्डकीका लागि दिनेश बुढामगरले ४७ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६२ रनको योगदान गरे ।

यसैगरी अविशेक थापाले २३, करण पंगेनीले २२ र दीपक डुम्रेले १९ रन बनाए ।

बागमतीका इशान पाण्डेले दुई तथा रामनरेश गिरी, दिपेश श्रेष्ठ र तिलक भण्डारीले समान एक विकेट लिए ।

बुधबार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश तथा त्रिभुवन आर्मी र नेपाल एपिएफ क्दब भिड्नेछन् ।