त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला

उपाधिका लागि नेपाल र पिएनजी भिड्ने

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी ( पिएनजी) भिड्ने भएका छन् ।

मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार पिएनजीले घरेलु टोली हङकङमाथि १० विकेटको सानदार जित निकाल्दै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो । फाइनल बुधबार हुनेछ । 

जितसँगै पिएनजीले दुई खेलमा दुई अंक जोड्यो । पराजित हङकङको समान खेलबाट एक अंक रह्यो ।

मंगलबार नै नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । नेपालले दुई खेलमा तीन अंक जोड्यो । नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो । 

हङकङले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो ।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा चौका र छक्काको मद्दतले अविजित ६१ तथा टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि जिसन अलीले २९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी नस्रुला राना र एहसान खानले समान १६ तथा बाबर हायतले १२ रन बनाए ।

पिएनजीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई विकेट लिए ।