कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः सुदूरपश्चिम र एपिएफको जित

सुदूरपश्चिम

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम प्रदेश र नेपाल एपिएफ क्लबले जित निकालेका छन्।

बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई दुई विकेटले पराजित गर्यो। जितसँगै समूह ‘बी’ मा चार खेलबाट ६ अंकको साथ दोस्रो स्थानमा रहेको सुदूरपश्चिम सेमिफाइनल नजिक पुगेको छ ।

बागमतीले प्रस्तुत गरेको ११८ रनको लक्ष्य सुदूरपश्चिमले १९.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि नरेन भट्टले ३०, दीपक वोहोराले २२ किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको जोडे ।

बागमतीका गौतम केसीले तीन विपिन आचार्य र इशान पाण्डेले समान दुई तथा क्रिजन गुरुङले एक विकेट लिए ।

दुवै खेलमा पराजित बागमती बाहिरिएको छ । बाँकी दुई खेल जिते पनि बागमतीको यात्रत समूह चरणबाट अघि बढ्ने छैन ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले  निर्धारित २० ओभरमा सबैविकेट गुमाउँदै ११७ रनको योगफल तयार पार्यो । बागमतीका लागि शुभ कंशाकारले ३४ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४१ रनको योगदान गरे । यसैगरी रविन जोशीले ३१ र आशुतोष घिरैयाले १० रन बनाए ।

 सुदूरपश्चिमका लागि नारायण जोशीले तीन, नरेन साउदले दुई तथा दीपक चन्द, शेर मल्ल र दीपक बोहराले समान एक विकेट लिए ।

 नारायण जोशी

दोस्रो खेलमा विभागीय टोली एपिएफले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले हरायो ।पराजयसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ। 

समूह ‘ए’ मा कोशी तीन खेलमा दुई अंकका साथ तेस्रो स्थानमा छ। यसैगरी दुई खेलमा दुई अंकका साथ एपिएफ चौथो स्थानमा छ।

कोशीले प्रस्तुत गरेको १ १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८.५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि पुरन विकले ३६,  प्रनित थापामगरले २०, अरुण ऐरीले १५, हिमान्शु दत्तले ११ र अमरसिंह रौटेलाले अविजित १० रनको योगदान दिए।

मधेशका फिर्दोस अन्सारीले तीन र दिपेश कँडेलले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको को कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै  ११७ रनको योगफल तयार पार्यो ।

कोशीका लागि सोनु अन्सारीले ३१ बलमा तीन चौका र दुई छक्काको मद्दले सर्वाधिक ४३ रनको योगदान गरे । यसैगरी कप्तान अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रन बनाए ।

एपिएफका लागि भुवन कार्की, यज्ञमान कुमाल, अमरसिंह रौटेला र इर्सद अहमद समान दुई विकेट लिए।

मंगलबार  टोली कोशी र त्रिभुवन आर्मी क्लब तथा बागमती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।