कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः कर्णाली र लुम्बिनी विजयी

विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा शनिबार कर्णाली र लुम्बिनी प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लबलाई ५१ रनले पराजित गर्यो। जितसँगै कर्णाली समूह ‘ए’ मा चार खेलबमट चार अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

कर्णालीले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको एपिएफले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो । एपिएफका अमरसिंह रौटेलाले ३७, हिमांन्शु दत्तले २५ र पुरन विकले १८ र अरुण ऐरीले ११ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावत र रविन्द्र शाहीले समान दुई तथा प्रकाश जैसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६५ रनको योगफल तयार पार्यो ।

कर्णालीका लागि अर्जुन घर्तीले ३४ बलमा समान दुई चौका र छक्काको मद्दतले अविजित  ५५ रनको योगदान गरे । यसैगरी विपिन रावलले ४२ र कप्तान रविन्द्र शाहीले ३५ रन बनाए ।

एपिएफका लागि रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमरसिंह रौटेला र इर्सद अहमदले समान एक विकेट लिए ।

दिनको दोस्रो खेलमा लुम्बिनीले बागमती प्रदेशलाई सात विकेट पराजित गर्यो । लगातार तेस्रो जित निकाल्दै ६ अंकका साथ लुम्बिनी समूह ‘बी’ को शिर्ष स्थानमा यथावत रहेको छ ।

बागमतीले प्रस्तुत गरेको १५४ को लक्ष्य लुम्बिनीले १७.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

लुम्बिनीका लागि  कप्तान देव खनालले ५१ बलमा समान सात चौका र छक्काको मद्दतले अविजित १०० रनको योगदान गरे । यो कोशी प्रदेश ट्रफिमा पहिलो शतक हो । यसैगरी विशालविक्रम केसीले अविजित २७ रन बनाए ।

बागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमाआठ विकेट गुमाउँदै १५३ रनको योगफल तयार पार्यो । बागमतीका कप्तान रित गौतमले ३३ बलमा  चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ४३ रनको योगदान गरे ।  

यसैगरी आशुतोष घिरैयाले २८ रन र उत्तम मगरले २५ रन र इसान पाण्डेले २१ रन बनाए । लुम्बिनीका राहुल चैहानले तीन र कृष्ण कार्की र निर्मल गुरुङले समान दुई विकेट लिए ।

आइतबार गण्डकी र नेपाल पुलिस तथा  आर्मी र मधेश प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।