मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा

यु-१६ क्रिकेटः लुम्बिनी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशले पोखरामा जारी मनमोहन स्मृति यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक मनमोहन-११ लाई ८५ रनले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार लुम्बिनीले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको मनमोहन १३.४ ओभरमा ६६ रनमै समेटियो ।

मनमोहनका लागि सुजन रोकायले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि सागर गैरे, भुवन शाही र करण जिएमले समान दुई तथा सुवम खनाल र कप्तान आरिफ खानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २४ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनको योगफल तयार पार्यो ।

लुम्बिनीका लागि रौनक श्रीवास्तव र स्वास्तिक पराजुलीले समान ३४, अजाजउल हकले २३, आरिफ खानले १२ र सागर गैरेले अविजित १० रन बनाए ।

मनमोहनका लागि कृतिक ज्ञावलीले पाँच ओभरमा ३८ रन खर्चिदै चार विकेट लिए । यसैगरी सुशान्त पाण्डेले तीन, नितेश पाटिलले दुई र धिरज देउबाले एक विकेट लिए ।