नेपाली क्रिकेट

नेपालको घरेलु मैदानमा १५ खेलसम्मको अपराजित यात्रा टुङ्गियो

काठमाडौं । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपालको लगातार १५ खेलसम्मको अपराजित यात्रा टुङ्गिएको भएको छ । आइसिसी विश्वकप लिग-२ मा बिहीबार नामिबियासँग चार विकेटले पराजित भएसँगै नेपालको जित यात्रा टुङ्गिएको हो ।

नेपाल सन् २०२२ नोभेम्बर यता त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय एकदिवसीयमा पराजित भएको थिएन । सन् २०२२ मा नेपाल युएईसँगको शृंखलाको पछिल्ला दुई खेल, सन् २०२३ मा आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका अन्तिम आठ खेल, एसिसी प्रिमियर कपका दुई र यही साता क्यानडासँगको शृंखलाको तीन गरी लगातार १५ खेलमा विजयी भएको थियो ।

 सन् २०२२ को नोभेम्बरमा युएईसँग तीन खेलको शृंखलामा नेपालले पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई खेल जितेको थियो ।

सन् २०२३ फेब्रुअरीमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत गत फेब्रअरीमा नामिबिया र स्कटल्यान्ड तथा मार्चमा युएई र पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो ।

गत अप्रिलमा नेपालले एसिसी प्रिमियर कप २०२३ को समूह चरणमा ओमान र फाइनलमा युएईलाई हराएको थियो । नेपालले यसै साता क्यानडाविरुद्ध तीन खेलको शृंखलामा ‘क्लिन स्विप स्विप गरेको थियो ।

युएईसँगको शृंखलामा बाहेक अन्य खेलमा नेपालको मुख्य प्रशिक्षक मोन्टी देसाइ नै थिए । देसाइले गत फागुनमा आइसिसी क्रिकेट विश्वकप लिग-२ मा नामिबिया र स्कटल्यान्डसँगको शृंखलाबाट नेपालको प्रशिक्षण सम्हालेका थिए ।