आइसिसी विश्वकप क्रिकेट लिग-२

नेपाल नामिबियासँग पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग चार विकेटले पराजित भएको छ ।नेपालले घरेलु मैदानमा १५ खेलपछि अन्तर्राष्ट्रिय एकदिवसीयममा पराजय ब्यहोरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पाँचौं ओभरको तेस्रो बलमा ललितनारायण राजवंशीले निकाल्स डाभिनलाई कुशल भुर्तेलबाट ब्यक्तिगत १५ रनमा क्याच गराए ।

नामिबियाले दोस्रो विकेटका रूपमा मिचेल भान लिन्गनलाई गुमायो । लिन्गनलाई ललितले  चौधौ ओभरको पहिलो बलमा वैकल्पिक फिल्डर देव खनालबाट क्याच गराए । लिन्गनले २३ रन बनाए । 

२०औं ओभरको तेस्रो बलमा सोमपाल काममीले ३४ रन बनाएका जान फ्राइलिंकलाई कुशल भुर्तेलबाट क्याच गराए । सोहि ओभरको छैटौं बलमा कप्तान जोर्रार्ड इरास्मस आठ रन बनाएर पवन सराफबाट क्याच भए । 

२५औं ओभरको पहिलो बलमा सोमपालले जेन ग्रिनलाई आफ्नो तेस्रो सिकार बनाए । ग्रिन दुई रन बनाएर विकेटकिपर आसिफ शेखबाट क्याच भए ।  ३३ औं ओभरको चौथो बलमा कप्तान रोहितकुमार पौडेलले जान निकोल्स इटनलाई ३१ रनमा एलबिडब्ल्युको धरापमा पारे । 

जेजे स्मिथ १७ र रुबेन ट्रम्पलम्यान एक रनमा अविजित रहे । 

नेपालका लागि सोमपाल कामीले तीन, ललितनारायण राजजंशले दुई तथा रोहितकुमार पौडेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो । 

नेपालले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशललाई रुवेन ट्रम्पलम्यानले जेजे स्मिथबाट क्याच गराए ।

नेपालले दोस्रो विकेटका रूपमा अनिल शाहलाई गुमायो उनलाई तेस्रो ओभरको पहिलो बलमा ट्रम्पम्यानले नै एलबिडब्ल्युको धरापमा पारे । अनिलले आठ रन मात्र बनाउन सके ।

चौथो ओभरको पाँचौं बलमा अर्का ओपनर आरिफ शेख चार रन बनाएर आउट भए । आसिफलाई ज्याक ब्रसिलले जेजे स्मिथबाट क्याच गराए ।

१०औं ओभरको तेस्रो बलमा नेपालले कप्तान रोहिकुमार पौडेलाई चौथो विकेटका रूपमा गुमायो । एक रन बनाएका रोहितलाई ब्रसिलले बोल्ड गराए ।

२०औं ओभरको पाँचौं बलमा कुशल मल्ललाई १५ रनमा नामिबियाका कप्तान जोर्रार्ड इरास्मसले टांगेनी लुंगामेनीबाट क्याच गराउँदा नेपाललाई पाँचौ झट्का लाग्यो । 
२२औं ओभरको चौथो बलमा सोमपाल कामी दुई रन बनाएर पेभिलियन फर्किए । सोमपाललाई इरास्मसले जान फ्राइलिंकबाट क्याच गराए । 

२८औं ओभरको चौथो बलमा ४४ रन बनाएर भीम सार्कीलाई इरास्मसले नै एलबिडब्ल्युको धरापमा पारे । ३२औं ओभरको पहिलो बलमा नेपालले गुल्सन झालाई गुमायो । २१ रन बनाएका गुल्सन पनि इरास्मसबाट बोल्ट भए ।

३६औं ओभरको तेस्रो बलमा पवन सराफलाई जान निकोल लोफ्टि इटोनले इरास्मसबाट क्याच गराए । पवनले १२ रन मात्र बनाउन सके । ४१.१ ओभरमा करण केसी १६ रन बनाएर पेभिलियन फर्किए । उनलाई इरास्मसले एलबिडब्ल्युको सिकार बनाए ।

नामिबियाका लागि जोर्रार्ड इरास्मसले ८.१ ओभरमा २८ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी रुबेन ट्रम्पलम्यान र ज्याक ब्रसिलले समान दुई तथा जान निकोल लोफ्टि इटनले एक विकेट लिए ।

अब नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।