आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२

नेपालले आज नामिबियाविरुद्ध खेल्दै लिग-२ सुरु गर्ने

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखाला आज (बिहीबार)बाट सुरू हुँदैछ । पहिलो खेलमा घरेलु टोली नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान बिहान सवा ९ बजे सुरू हुनेछ । नेपाली राष्ट्रिय क्रिकेटे टोलीका कप्तान रोहितकुमार पौडेलले टोलीको लक्ष्य एसोसिएट राष्ट्रमा पहिलो बन्ने रहेको बताएका छन्  ।

‘मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देसाइ) आएपछि हाम्रो एउटै लक्ष्य छ । र त्यो हो एसोसिएटमा नम्बर वान बन्ने । हामी त्यही लक्ष्यका साथ लिग-२ मा आएका छौँ’, बुधबार कप्तान रोहितले भने ।

यसअघि २०१९ देखि २०२३ सम्म भएको लिग-२ मा नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनु थियो । नेपालले लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो । साथै जिम्बाव्वेमा भएको दोस्रो चरणको छनोट खेलेको थियो । जहाँ टेष्ट राष्ट्र जिम्बाव्वे र वेष्ट इन्डिजसँग खेलेको थियो ।

लिग-२ शृंखला खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको एक दिवसीय शृंखला खेलेको थियो । युवा खेलाडीलाई मौका दिइएको शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको थियो ।

क्यानडासँगको शृंखलाले तयारी राम्रो भएको रोहित बताउँछन् । ‘तयारीको कुरा गर्दा क्यानडासँगको शृंखला हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । प्रधानमन्त्री कप खेलेर आएपछि त्यो समय एकदमै जरुरी थियो । सबै जना राम्रो लयमा हुनुहुन्थ्यो’, उनले भने ।

यसैगरी रोहित यस पटक लिग टुमा राम्रो सुरुआत गर्ने लक्ष्य रहेको बताउँछन् ।

‘२०१९ मा हामीले पहिलो पटक लिग-२ खेल्दा सोचे जस्तो सुरुआतत भएको थिएन । तर यस पटक त्यो जरुरी छ । यो एकदमै महत्वपूर्ण प्रतियोगिता हो’, कप्तान रोहितले भने, ‘हामीले जसरी तयारी गरेका छौं त्यो हिसाबले राम्रो सुरुआत हुनेमा म आशावादी छु ।’

नेदरल्यान्ड्स र नामिबियासँगको खेललाई लिग–२ कै कठिन मानिएको छ । नेदरल्यान्ड्सले यसअघि टेस्ट मान्यताप्राप्त १२ टोलीसँग सुपर लिग खेलेको थियो । उता नामिबियाले गत नोभेम्बरमा जिम्बाव्वेलाई हराउँदै विश्वकपमा छनोट भएको थियो ।

कप्तान रोहित रोहित नेदरल्यान्ड्स र नामिबियासँगको खेल प्रतिस्पर्धात्मक हुने बनाउँछन् । ‘नेदरल्यान्ड्स भर्खरै एकदिवसीय विश्वकप खेलेर आएको छ । नामिबियाले पनि एकदमै राम्रो गरेर आएको छ । मलाई विश्वास  खेल प्रतिस्पर्धात्मक हुन्छ’, उनले भने ।

क्यानाडाविरुद्ध बिश्राम पाएका बलर करण केसी नामिबियाविरुद्ध फर्कने छन् । युएईमा लिग खेलिरहेको दीपेन्द्रसिंह भने उपलब्ध हुने छैनन । कप्तान रोहितसँगै सोमपाल कामी, असिफ शेख, आरिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजंशी, भिम सार्की, कुशल मल्ल नेपाली टोलीमा रहेका छन् । क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल पछि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

नामिबिया र नेपालबीच हालसम्म ६ अन्तर्राष्ट्रिय एकदिवसीय खेल भएका छन् । जसमा नामिबिया तीन र नेपाल दुई खेलमा विजयी हुँदा एक खेल नतिजाविहिन बनेको छ ।

सन् २०२२ मा भएका चारमध्ये तीन खेलमा नामिबिया विजयी हुँदा एक खेल नतिजाविहिन बनेको थियो । जुलाई ११ मा भएको पहिलो भेटमा नामिबिया ४० रनले विजयी भएको थियो । १६ जुनाईमा पनि नामिबियाले ६३ रनको जित निकालेको थियो ।

डिसेम्बर २ मा तय भएको खेल वर्षका कारण हुन नसक्दा डिसेम्बर ७ मा नामिबिया ८६ रनले विजयी भएको थियो ।

यसैगरी सन् २०२३ का दुई भेटमा भने नेपाल विजयी भयो । नेपालले फेब्रुअरी १४ मा दुई तथा फेब्रुअरी १८ मा तीन विकेटको जित निकालेको थियो ।