सुशील कोइराला स्मृति यु-१९ राष्ट्रिय महिला क्रिकेट

यु-१९ महिला क्रिकेटः सुदूरपश्चिम फाइनलमा

बाँके । सुदूरपश्चिम प्रदेश बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृति यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।  

कोहलपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर-११ अंक तालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान चार अंक भए पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंक तालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको ०.४९२ रह्यो।

बुधबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो।

लुम्बिनीले प्रस्तुत गरेको  ६० रनको लक्ष्य सुदूरपश्चिमले ७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि मनिषा बोहराले २३ तथा अनु कडायतले १८ र स्नेहा महराले १० रन योगदान दिए।

लुम्बिनीका लागि सुश्मिता भुसालले दुई र सरु तिवारीले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ५९ रनको योगफल तयार पार्यो । लुम्बिनीका लागि एन्जिला पाठकले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि रबिना साउदले तीन, करिश्मा थापाले दुई तथा अनु कडायत र निशा खडायतले समान एक विकेट लिए । 

दिनको दोश्रो खेलमा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो।

कोहलपुर मेयर-११ ले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले २० ओभर नै ब्याटिङ गरेपनि आठ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।

बागमतीका लागि विपिशा शाहीले २१,अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिए ।

कोहलपुरका लागि  प्रतिमा शाहले दुई तथा भवानी कमाती,आरति महतो, दिक्षा पुरी र रिया शर्माले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै  १३२ रनको योगफल तयार पार्यो ।

कोहलपुरको लागि कप्तान साना प्रविनले अविजित ४८, एलिशा यादवलेअविजित ४७ र  किरन कुँवरले १५ रन बनाए। दोश्रो विकेटको लागि प्रविन र यादवले अविजित १०३ रनको साझेदारी गरे।

उपाधिको लागि बिहिबार सुदूरपश्चिम र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।