एसिसी महिला प्रिमियर कप

रुबिनाको अलराउन्ड प्रदर्शनमा नेपालको कीर्तिमानी जित

काठमाडौं । रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी महिला प्रिमियर कपमा  समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा माल्दिभसमाथि २१४ रनको कीर्तिमानी जित निकालेको छ ।

 याे नेपालले रनकाे आधारमा हासिल गरेको सबैभन्दा ठूलो जित हो ।  यसअघि सन् २०२१ मा कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो थियो ।

लगातर तेस्रो जित निकालेको नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वार्टरफाइनल पुगेकाे छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।

माल्दिभ्स प्रयितोगितामा जितविहिन बनेको छ । यसअघि माल्दिभ्सले भुटानसँग ९४ र हङकङसँग १७२ रनको पराजय ब्यहोरेको थियो ।

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा मंगलबार नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै समेटियो । माल्दिभ्सका कुनै पनि ब्याटिरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि अस्मिना कर्माचार्यले चार, रुबिना र पूजा महताले समान तीन विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २२७ रनको योगफल तयार पार्यो । महिला अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्ध १६४ रन बनाएको थियो ।

नेपालका लागि रुबिना क्षेत्रीले ५९ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११८ रनको योगदान गरिन् । यससँगै रुबिना महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेकी छन् । यो नेपाली महिला क्रिकेटरले एकै खेलमा बनाएको सर्वाधिक ब्यक्तिगत रन पनि हो । यसअघि कतारविरुद्ध सीता रानामगरले अविजित ८२ रन बनाएकी थिइन् ।

यसैगरी पूजा महतोले  ३६ बलमा पाँच चौका र एक छक्काको मद्दतले अविजित ५९, सीता रानामगरले १५ र कविता कुँवरले १३ रन बनाए ।

पाँचौं विकेटका लागि रुबिना र पूजाले अविजित १६६ रनको साझेदारी गरे । यो नेपालका लागि सर्वाधिक ठूलो रनको साझेदारी हो । माल्दिभ्सका लागि शम्मा अलीले तीन र नब्बा नसिमले एक विकेट लिए ।

तीन खेलमा ६ अंक जोडेको नेपाले क्वार्टरफाइनलमा समूह ‘ए’को उपविजेता कुवेतसँग खेल्नेछ । 

यही समूहबाट हङकङ तीन खेलमा चार अंकका साथ उपविजेतका रूपमा क्वार्टरफाइनल पुगेको छ। हङकङले क्वार्टरफाइनलमा समूह ‘ए’ को विजेता थाइल्यान्डको सामना गर्नेछ ।