आइसिसी ट्वान्टी २० विश्वकप

असलंकाको आक्रामक ब्याटिङमा श्रीलंकाको जित

दुबई । चरिथ असलंका र भानुका राजापाक्षेले पाँचौ विकेटका लागी ८६ रनको साझेदारी गरेपछि आइसिसी ट्वान्टी २० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको ।

बंगलादेशले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य श्रीलंकाले सात बल अगावै पाँच विकेट क्षतीमा पूरा गर्यो ।

श्रीलंकाको जितमा असलंकाले अविजित ८० रन जोडे । असलंकाले ४९ बलमा समान पाँच चौका र छक्का प्रहार गरे । त्यस्तै ३१ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका राजापाक्षेले ५३ रन बनाए । पथुम निसांकाले २४ रन बनाए । 

बंगलादेशका नसुम अहमेद र सकिब अल हसनले समान दुई विकेट लिए । त्यस्तै अर्को एक विकेट मोहमद सैफुदिनको नाममा रह्यो ।

यसअघि संयुक्त अरव इमिरेट्स (युएई) को शारजहाँ क्रिकेट रंगशालामा टस हारेर व्याटिङमा निम्त्याइएको बंगालदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रनको योगफल तयार गरेको थियो ।

बंगलादेशका मोहमद नैमले ६२ रन बनाएका थिए । त्यस्तै मुसफिकुर रहिमले अविजित ५७ रन जोडेका थिए । 
श्रीलंकाका चामिका करणारत्ने, विनुरा फर्नान्डो र लहिरु असलंकाले समान एक विकेट लिएका थिए ।