इङ्लिस प्रिमियर लिग

लन्डन डर्बीमा टोटनहम पराजित

लन्डन । मिचेल एन्टोनियोले मध्यान्तरपछि गरेको गोलमा टोटनहममाथि १-० को जित हासिल गर्दै वेस्ट हम इङलिस प्रिमियर लिग अंकतालिकाको शीर्ष चारमा प्रवेश गरेको छ ।

लन्डन रंगशालामा आइतबार भएको लन्डन डर्बीमा समय सकिन १८ मिनेट बाँकी रहँदा एन्टोनियोले गोल गर्दै वेस्ट हमलाई जित दिलाएका थिए । शीर्ष डिभिजनको लिगमा एन्टोनियोको यो करियरको छैटौं गोल हो ।

जितपछि नौं खेलको समाप्तीमा वेस्ट हम १७ अंकका साथ चौथो स्थानमा उक्लिँदा टोटनहम भने १५ अंकका साथ छैटौं स्थानमा झरेको छ । शीर्ष स्थानमा रहेको चेल्सीको खातामा २२ अंक छ ।

आइतबारै प्रिमियर लिगमा भएको अर्को खेलमा लेस्टर सिटीले ब्रेन्टफोर्ड भ्रमणमा २-१ को जित हासिल गरेको छ ।

युरी टेलेमान्सको गोलमा १४औं मिनेटमा लेस्टरले अग्रता लिएको थियो । ब्रेन्टफोर्डका माथियास जेन्सनको पासमा माथियास जोरजेन्सनले गोल गर्दै ६०औं मिनेटमा खेल बराबरीमा ल्याए ।

तर समय सकिन १७ मिनेट बाँकी रहँदा जेम्स माडिसनले भ्रमणकारी लेस्टरका लागि निर्णायक विजयी गोल गरे । उनले पाट्सन डाकाको पासमा गोल गर्दै लेस्टरलाई तीन अंक दिलाएका थिए ।

जितपछि लेस्टर १४ अंकका साथ नवौं स्थानमा उक्लिँदा ब्रेन्टफोर्ड १२ अंकसहित १२औं स्थानमा कायम छ ।