यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता

कोशी च्याम्पियन

काठमाडौं । बागमती प्रदेशलाई ३५ रनले हराउँदै कोशी प्रदेश कैलालीको धनगढीमा सम्पन्न यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

उपाधिसँगै कोशीले २ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बागमतीले १ लाख रुपैयाँ पाएको छ ।

फाप्ला क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनलमा कोशीले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य पछ्याएको बागमती २४.४ ओभरमा  १ सय ३६ रनमा समेटियो । बागमतीका लागि लागि सार्थक धितालले ३३ तथा सूर्यान्सु कोइराला र रोशन विकले समान २३ रन बनाए ।

कोशीका लागि रविन मण्डलले ३ तथा  सौजन घिमिरे र प्रतिक पोखरेलले समान २ विकेट लिए ।

यसअघि टस जितेर  ब्याटिङ रोजेको कोशीले  निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रनको योगफल तयार पारेको थियो । वर्षाको कारण खेल २५ ओभरमा झारिएको हो ।

कोशीकालागि एलिस मण्डलले ५३ रन बनाए । यस्तै सिंवाश बजगाईँले अविजित ३० रन, दिपु भुजेलले २१ रन र आशिक मगरलले २० रन जोडे ।

बागमतीका लागि सुप्रिम हाडा, सार्थक धिताल र अर्थव पौडेलले समान विकेट लिए ।

बागमतीका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर चुनिए । रोशनले सर्वोकृष्ट खेलाडी भए बापत  १५ हजार र उत्कृष्ट ब्याटर भए बापत १० हजार रुपैयाँ प्राप्त गरे ।

कोशीका कृतिक कामत उत्कृष्ट बलर घोषित भए । उनले नगद १० हजार प्राप्त गरे ।