पोखरा र ललितपुर तथा भैरहवा र विराटनगर भिड्दै 

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको बिहान ९ः३० बजेबाट सुरु हुने पहिलो खेल ललितपुर पेट्रियटस् र पोखरा राइनोजबीच हुनेछ । 

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर र विनोद भण्डारीको नेतृत्वको पोखरा प्रतियोगितामा पहिलो जितको लक्ष्यमा हुनेछन् । ललितपुर पहिलो खेलमा काठमाडौं किंग्स इलेभनसँग सात विकेटले पराजित भएको थियो ।

यता आइतबार वर्षाले खेल रोकिएपछि पोखरा र भैरहवा ग्ल्याडियटर्सले अंक बाँडेका थिए ।

सोमबार र मंगलबार वर्षा तथा ओसिलो मैदानका कारण तय भएका चार खेलहरु सम्भव भएन  ।

बुधबार दिँउसो १ बजे  शरद भेषावकरको टाेली भैरहवाले करण केसीको कप्तानीमा रहेको विराटनगर वारियर्सको सामना गर्दैछ । 

विराटनगर पहिलो खेलमा आइतबार चितवन टाइगर्ससँग दुई विकेटले पराजित भएको थियो ।