अस्ट्रेलियन क्रिकेट

भारतविरुद्ध अस्ट्रेलियाको कप्तानी स्मिथले गर्ने

काठमाडाैं । स्टिभ स्मिथले भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अस्ट्रेलियाको कप्तानी सम्हाल्ने भएका छन् ।

गत साता आमा मारियाको निधनपछि नियमित कप्तान प्याट कमिन्स अस्ट्रेलियामै रहेकाले स्मिथलाई कप्तानी जिम्मेवारी दिइएको क्रिकेट अस्ट्रेलियाले बताएको छ ।

मुम्बईमा शुक्रबारदेखी सुरु हुने तीन खेलको शृंखलाका लागि १५ सदस्यीय टोलीमा कमिन्स अटाएका छैनन् । यस्तै  नाथन एलिसलाई  जाय रिचर्डसनको स्थानमा 
टोलीमा बोलाइएको छ ।

स्मिथले टोलीको जिम्मेवारी लिएपछि अस्ट्रेलियाले अन्तिम पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा चार कप्तान पाउनेछ। आरोन फिन्चले सेप्टेम्बरमा न्युजिल्यान्ड विरुद्धको शृङ्खलापछि सन्यास लिएका थिए र कमिन्सलाई उनको उत्तराधिकारीको रूपमा नाम दिइएको थियो। तर नोभेम्बरमा इङ्ल्यान्डविरुद्धको शृंखलाको दोस्रो खेलमा उनलाई विश्राम दिइँदा जोस हेजलउडले कप्तानी जिम्मेवारी लिएका थिए।

स्मिथले यसअघि ५१ एकदिवसीय खेलमा कप्तानी गरेका थिए । उनले अन्तिम पटक सन् २०१८ मा अस्ट्रेलियन एकदिवसीय टोलीकाे कप्तानी गरेका थिए ।

अस्ट्रेलियन टोली


डेविड वार्नर, ट्राभिस हेड, स्टिभन स्मिथ (कप्तान(, मार्नुस लाबुसेन, मिचेल मार्स, मार्कुस स्टोइनिस, एलेक्स केरी, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन, जोश इङ्लिस, सन एबोट, एस्टन अगर, मिचेल स्टार्क, नाथन एलिस र एडम जाम्पा