सहिद स्मारक ए डिभिजन लिग

चर्च ब्वाइजलाई शतप्रतिशत नतिजा कायम राख्ने चुनौती

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लबको सामना गर्दा चर्च ब्वाइज युनाइटेडसामु विजय यात्रालाई चौथो खेलसम्म कायम राख्ने चुनौती हुनेछ ।

लिगमा लगातार तीन खेल जितेको चर्च ब्वाइजसामु शतप्रतिशत नतिजा कायम राख्ने एक मात्र टोली बन्ने अवसर छ । जारी लिगमा तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको अर्को टोली सातदोबाटो युथ क्लबको यात्रा सोमबार थ्री स्टार क्लबलाई १-० को नतिजा सुम्पिएसँगै अन्त्य भएको थियो । 

यसै सिजन मात्र ए डिभिजनमा डेब्यु गरेको चर्च ब्वाइजले तीन खेलमा क्रमशः नेपाल पुलिस क्लब, एफसी खुमलटार र हिमालनय शेर्पा क्लबलाई हराएको थियो ।

यता तेस्रो खेलमा आएर जितको स्वाद चाखेको संकटा क्लब भने सो लय कायम राख्न चाहन्छ । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध अंक बाँडेको संकटा दोस्रो खेलमा मनाङसँग पराजित भएको थियो । तेस्रो खेलमा भने संकटाले नेपाल पुलिस क्लबलाई हराएको थियो । सो खेल एन्फा मुख्यालय सातदोबाटोमा दिउँस २ः३० मा हुनेछ । 

आजै दिउँस २ः३० मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेन्ड्स क्लबको समना गर्दा जावलाखेल युथ क्लब भने अपराजित यात्राको निरन्तरता चाहन्छ । 
लगातार दुई खेल जितेको जावलाखेल तेस्रो खेलमा भने एपिएफविरुद्ध गोलरहित बराबरीमा रोकिएको थियो ।

फ्रेन्डस क्लब लिगमा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा एफसी खुमलटारलाई नतिजा सुम्पिएको फ्रेन्ड्स दोस्रो खेलमा थ्री स्टारसँग बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा सातदोबाटोलाई नतिजा सुम्पिएको थियो ।

यता आजै हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछ ।

दुवै टोली लिगमा पहिलो जितको खोजीमा छन । तीन खेलमा मच्छिन्द्रले दुई हार र एक बराबरीको नतिजा ल्याएको छ भने पुलिसले तीनवटै खेल गुमाएको थियो ।