आइसिसी लिग टु

घरेलु शृंखलाका लागि नेपाल तयार

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत घरेलु भूमिमा बिहिबार देखि त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्दैछ  ।

लिग टुको अन्तिम शुंखलामा नेपालले युएई र पपुवा न्युगिनी(पिएनजी) को सामना गर्नेछ । सार्वजनिक तालिका अनुसार नेपालले फागुन २५ र २९ मा पिएनजी तथा फागुन २८ र चैत दुईमा युएईसँग खेल्नेछ । यसैगरी पिएनजी र युएईले फागुन २६ र चैत एकमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले  दुई साता अगाडी लिग टु अन्तर्गत घरेलु भूमिमा चार वटै खेल जितेको थियो । त्यसलगत्तै सुरु भएको युएई भ्रमणमा पनि तिन खेल जितेको थियो ।

लिग टुमा  नेपाल ३२ खेलमा ३२ अंक छ र पाचौं स्थानमा छ । युएई ३२ खेलमा ३१ अंक सहित छैटौं स्थानमा छ । सातौं स्थानको पपुवा न्युगिनीको भने ३२ खेलमा ९ अंक छ ।

लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० र ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ । स्कटल्यान्ड र ओमानले जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबिया ३६ खेलमा ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ अंक छ ।

लिगमा बाँकी रहेको चार खेल जितेमा नेपालको तेस्रो स्थानमा बस्दै विश्वकप छनोट खेल्ने लक्ष्यले पूर्णता पाउने छ । चारमध्ये दुई खेल जिते नेपालको एकदिवसीय मान्यता भने कायम रहनेछ ।

नेपालल लिग टुका पछिल्ला आठ मध्ये सात खेलमा जित निकालेपछि टोलीका कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाइ घरेलु शृंखलाका लागि निकै सकरात्मक देखिन्छन् ।

नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल उत्कृष्ट प्रदर्शन गदै ग्लबल क्वालिफायर्समा पुग्ने प्रयास गर्ने बताउँछन् ।

‘रोम्रो खेल्यौं भने ग्लोबल क्वालिफायर्समा पुग्ने छौं त्यसैले हामी शतप्रतिशत दिएर खेल्ने छौं,’ कप्तान रोहितले भने‘घरेलु कन्डिसन हामीलाई थाहा छ । बढी रन बन्ने खालको पिच छ । ‘हामी यसका लागि तयार छौं । मोमेन्टम राम्रो भइरहेको छ । खेल जित्नु महत्वपूर्ण कुरा हो ।’

प्रशिक्षक मोन्टी पनि वर्तमानमा रहेर प्रत्येक खेललाई हेर्दै जाने बताउँछन् । उनी पूरै शृंखलालाई भन्द बढी एउटा खेललाई ध्यान दिने र त्यो खेल सकिएपछि मात्र आगामी खेलको योजना बनाउने बताउँछन् ।

‘हामीले प्रत्येक खेललाई हेरेर योजना बनाउँदै यात्रा सुरु गर्ने गरेका छौं । हामी सकेसम्म वर्तमानमा रहेर खेल्न मन पराउँछौं,’ देशाइले भने,‘अहिलेको स्थितिमा हामी बिहीबार (पपुवा न्युगिनीसँग) को खेललाई मात्र योजना बनाएर खेल्नेछौं ।’

एउटा खेललाई मात्र ध्यान दिएर योजना बनाउँदा सोचेजस्तो नतिजा आइरहेको कप्तान रोहित बताउँछन् । ‘हामीले युएईमा कम्तीमा पनि तीन खेल जित्ने लक्ष्य लिएर गएका थियौं, त्यो पूरा भयो। सोचेजस्तो भइरहेको छ ।’

पछिल्लो शृंखलामा डेथ ओभर बलिङमा नेपालको समस्या देखिएको थियो । अहिले त्यो समस्या सुधार गरेकाले कप्तान रोहित आशावादी छन् । ‘हामीले डेथ ओभरमा काम गरिरहेका छौं । भोलिको खेलमा पक्कै पनि सुधार देखिनेछ’,रोहित भन्छन् ।

 ‘राम्रो खेल्न सक्यौं भने पिएसजीलाई हराउने छौं’, रोहितले भने,‘ युएईमा रन बनाउन गाह्रो भएको थियो । घरेलु मैदानमा राम्रो खेल्नेमा आशावादी छौं ।’