अफ्रिदी भाई एक सेल्फी प्लिज

काठमाडौ,(खेलाडी)- अफ स्पिनको जादुले धमाधम विपक्षी ब्याटरहरु पवेलियन फकिएको हेर्ने धेरैको चाहना थियो । हरेक जसो बलमा ब्याट घुमाएर नाडीको बलमा चौका र छक्काको वर्षा हेर्न पाउने विश्वास पनि बलियो थियो ।

पाकिस्तानी राष्ट्रिय टोलीका पूर्व कप्तान साहिद अफ्रिदी कीर्तिपुरको मैदानमा उत्रिँदा काठमाडौंका समर्थकले यस्तो चाहना राख्नु स्वभाविक थियो । तर कीर्तिपुरको मैदानमा बुमबुम अफ्रिदी विष्फोट भएको हेर्ने चाहना एभरेष्ट प्रिमियर लिग (इपिएल)को उद्घाटन खेलमा शनिबार पूरा हुन सकेन् । 

परिस्थिती विश्व क्रिकेटका यी सुपरस्टारको पक्षमा रहेन । अफ्रिदीको टोली काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोज्ने निर्णय गरेका थिए । खेल सुरु हुनेवित्तिकै चोभार र भत्केको पाटीतिरको डाँडा अध्यारो हुन थाल्यो । कीर्तिपुरको मैदानमा पनि पानी छिट्टाउन थाल्यो । कोभिड १९ को जोखिमका बावजुद कीर्तिपुरमै अफ्रिदीजस्ता विश्वस्तरीय स्टारको खेल हेर्न पाउने लोभमा टिकट काटेर आइपुगेका समर्थक निराश हुन थाले । 

अफ्रिदीले बलिङ गर्नै नपाई पानीले खेल बिथोल्ने त होइन ?

होइन, त्यस्तो भएन । केहीबेरमै वरिपरीका डाँडा उज्यालिन थाले । मैदानमा छिट्टाएको पानी पनि रोकियो । 

सन्दीपले छैटौं ओभरमा बुमबुम अफ्रिदीलाई बलिङमा ल्याए । पहिलो बलमा शंकर रानालाई एक रन दिएका अफ्रिदीले त्यही ओभरमा १३ रन खर्चिए । जहाँ उनलाई पवन सर्राफले एक छक्का र एक चौकासहित १२ रन प्रहार गरे । 

पूरा चार ओभर बलिङ गर्ने क्रममा अफ्रिदीले विना विकेट आठको औसतमा ३२ रन खर्चिए । त्यसपछि आठौं ओभरमा भने उनले कसिलो बलिङ गर्ने क्रममा तीन रन मात्र दिए । 

यसैगरी १४औं ओभरमा १० रन खर्चिने क्रममा उनलाई अन्तिम बलमा योगेन्द्रसिंह कार्कीले छक्का प्रहार गरेका थिए । १६औं ओभरमा कुल ६ रन खर्चिने क्रममा उनलाई सर्राफले एक चौका प्रहार गरे ।

समग्रमा चार ओभर बलिङ गर्दै ३२ रन दिँदा अफ्रिदीलाई विपक्षी ब्याट्सम्यानले दुई छक्का र दुई चौका प्रहार गरे । उनले २० रन बाउन्ड्रीमा खर्चेका थिए । तर त्यसवापत विश्वस्तरीय सुपरस्टारले एउटै विकेट लिन सकेनन् । 

अलराउन्डर भए पनि अफ्रिदी नियमित बलर होइनन् । जवकि उनी नियमित विकेट टेकर भने हुन् । त्यसैले आज कीर्तिपुरमा उनको बलबाट साविक विजेता ललितपुर प्याट्रियोटसका कुनै ब्याटर सिकार नभए पनि ब्याटिङमा रनको वर्षा हेर्ने आशाका साथ समर्थकले चित्त बुझाए । 

ललितपुरको इनिङमा अफ्रिदीको एउटै उपलब्धि भनेको नारायण जोशीको क्याच लिनुमात्र थियो । तिब्र गतिका नेपाली बलर गुल्सन झाको बलमा राम्रो क्याच लिएर अफ्रिदीले नारायणलाई पवेलियनको बाटो देखाए । 

पहिलो इनिङमा थप व्यक्तिगत उपलब्धि हासिल नहुने बुझेर होला, अफ्रिदीले दुई हात फिँजाएर आफ्नै शैलीमा मज्जासँग खुसी मनाए । समर्थकलाई अभिवादन गरे । फोटोग्राफर भएतिर गएर पोज दिए । 

समर्थकले दोस्रो इनिङमा अफ्रिदी विष्फोट भएको हेर्ने आशाका साथ प्रतिक्षालाई निरन्तरता दिइरहे । तर एक सय ५७ रनको लक्ष्य काठमाडौंले निर्धारित २० ओभरको ३३ बल बाँकी रहँदै तीन विकेटको क्षतिमा एक सय ६० रन बनाएर पूरा गर्यो । प्याड कसेर ब्याट उजाउँदै बसेका अफ्रिदी ब्याटिङ गर्न क्रिजमा जानै परेन ।

काठमाडौंले प्रतियोगिताको चौथो संस्करणमा जितका साथ सुरु गरे पनि अफ्रिदीको ब्याटिङ हेर्ने समर्थकको चाहना अधुरै रहयो । 

त्यसोत क्रिकेट अनिश्चितताको खेल हो । जस्तोसुकै राम्रो खेलाडी भए पनि प्रत्येक खेलमा राम्रो प्रदर्शन गर्ने ग्यारेन्टी हुदैन । अफ्रिदीका लागि त काठमाडौं नयाँ थियो । यहाँको मौसम नयाँ थियो । कीर्तिपुरको मैदान नयाँ थियो । 

तर 'प्रतियोगिता लामो छ । बाँकी खेलमा उनीबाट ब्याट र बल दुवैतिरको जादु देख्न पाइन्छ' भन्ने सोचेर मन बुझाउने छुट समर्थकसँग छैन । उनी त दुई खेलका लागिमात्र काठमाडौं आएका हुन् ।

दुईमध्ये एक खेलमा राम्ररी अफ्रिदीको खेल हेर्न नपाएका समर्थकले खेल सकिएपछि सेल्फी खिचेर भए पनि चित्त बुझाए । 'अफ्रिदी भाई, एक सेल्फी प्लिज' भन्दै बाउन्ड्री बाहिरबाट सयौं समर्थकले खेल सकिएपछि मैदानभित्र रहेका अफ्रिदीलाई अनुरोध गरिरहे । कुनै पनि खेलमा समर्थकको महत्व कति हुन्छ भनेर राम्ररी बुझेका अफ्रिदीले पनि हाँसी हाँसी मैदानको आधा जति भाग घुमेर समर्थकको सेल्फीका लागि पोज दिइरहे । 

'एउटा खेल अफ्रिदीलाई राम्ररी नदेख्दै सकिइसक्यो । अर्को खेल सोमबार विराटनगर वारियर्ससँग हुँनेछ । त्यसमा पनि क्रिकेटको अनिश्चितताको के भर ? अफ्रिदीको काठमाडौं आगमन आयो, आयो, गयो हुने त होइन ?,' आफ्नो मोबाइलको क्यामेरामा अफ्रिदीलाई कैद गरेपछि दुई समर्थक गफिँदै थिए, 'अफ्रिदी आउँदा पनि एउटै विकेट हेर्न पाइएन । ब्याट त बोकेर मैदान छिरेको पनि देख्न पाइएन । बरु यही सेल्फीबाट चित्त बुझाउँ ।'