एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

न्यु डायमन्ड फाइनलमा

फाइल फोटो

काठमाडौं । साबिकको विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

न्यु  डायमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो  ।

पहिलो सेट १७–२५ ले गुमाएको न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५–१९,२५–१६ र २५–१८ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

न्यु डायमन्ड समूह ‘ए’को उपविजेता तथा आर्मी समूह‘बी’को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

न्यु डायमन्डले आइतबार हुने फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबको समना गर्नेछ । पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५–१५,१७–२५,२१–२५,२५–२१ र १५–७ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।