एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

लगातार दोस्रो जित निकाल्दै आर्मी सेमिफाइनलमा

काडमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा गण्डकी प्रदेशलाई ३–० को  सोझो सेटमा हराउँदै आर्मीले लगातार दोस्रो जित निकालेको हो ।    

आर्मीले  खेल २५–११, २५–१० र २५–१५ ले आफ्नो पक्षमा पारेको हाे ।

यस जितसँगै समूह ‘बी’ बाट दुई खेलमा ६ अंक जोडेको आर्मी एक खेल बाँकी रहदै अन्तिम चारमा पुगेको हो। आर्मीले पहिलो खेलमा कृष्ण सेकेन्डरी एकेडेमीलाई पराजित गरेको थियो । 

यस हारसँगै गण्डकीको भने सेमिफाइनल सम्भावना कमाजोर बनेको छ । गण्डकीले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३–० कै सेटमा पराजय ब्यहोरेको थियो ।

महिलातर्फ नै बुधबार सम्पन्न पहिलो खेलमा एभरेस्ट भलिबल क्लबले  नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१२,२५–१२ र २५–१४ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको थियो ।