नेपाल भलिबल संघ

अध्यक्ष पदमा चन्दको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

आइतबार राजधानीमा भएको उम्मेदवार घोषणा कार्यक्रममा उनले आधिकारिक रुपमा आफ्नो दाबेदारीको घोषणा गरे ।

'पहिला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता थिएन । तर त्यस फिल इन द ब्ल्यान्कसलाइ पूरा गरेका छौ । १३औं सागको लागि आठ मैत्रीपूर्ण खेल खेलेका थियौ । महिला टिमले दुई स्वर्ण पदक र १३औं सागमा रजत पदक जित्यौं,' चन्दले भने, 'त्यसको लागि नेतृत्व गर्ने मान्छे राम्रो हुनुपर्छ । आज मैले अध्यक्ष पदको लागि घोषणा गरे ।'

एक दशकदेखि संघको महासचिव पदमा काम गरिसकेका चन्दले १४ वटा एजेन्डामा प्रस्तुत गरेका छन् ।

जसमध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै आ-आफ्नो काम कर्तव्यप्रती इमानदारी पूर्वक भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्सिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराइ कम्तीमा वर्षमा महिला र पुरुषको १-१ राष्ट्रिय टिम बनाइ अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने एजेन्डा प्रस्तुत गरे ।

आफ्नो नेतृत्वमा रहेको टिमले १४ एजेन्डा प्रस्तुत गरे पनि  त्यसलाई पूरा गरेरै छोड्ने बताए ।

'हामीले १४ एजेन्डा मात्र प्रस्तुत गरेका छौ । तर, त्यसलाई पूरा गर्न सकेनौ भने त्यो बेलामा आएर हामिलाई भन्नुस् । हामिले पूरा गर्न सक्ने एजेन्डा बनाएका छौ,' उनले भने, 'मेरो नेतृत्वमा आएको नयाँ  कार्यसमितिले आफुले गरेको प्रतिबद्धता पूरा गर्नेछ । अब आउने नयाँ कार्यसमितिले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' को स्टाइलमा काम गरेमा भलिबलको आफ्नै कभर्डहल बन्ने तथा भलिबल विकास हुन्छ ।'

सन् १९९५-२००६ सम्म भलिबल खेलेर विद्यालय प्रशासनिक काममा लागेका चन्दले २०६८ चैत ३० गते महासचिवमा निर्वाचित भएका थिए ।

चन्दको घोषणा कार्यक्रममा ३३ सदस्यीय कार्यसमितिमध्ये १७ सदस्यहरु उपस्थित थिए । सोही कार्यक्रममा एक वर्ष अगाडि सामाजिक संजालमार्फत अध्यक्ष पदमा दाबेदारी दिने घोषणा गरेकी इन्दिरा निरौलाले उम्मेदवारी फिर्ता लिएको बताइन् ।

'मैले एक वर्ष अगाडि अध्यक्षमा घोषणा गरेको थिए । तर, अहिले १० वर्ष महासचिव पदमा बिताएका जितेन्द्र चन्दले उम्मेदवारी घोषणा गर्नु भएको छ,' उनले भनिन् , 'उहाँले आफ्नो कार्यकालमा धेरै राम्रो कामहरु गर्दै आउनुभएको छ । त्यो बेलामा मैले जानि नजानि घोषणा गरे । तर, यहि कार्यक्रममार्फत घोषणा फिर्ता लिदै मेरो  सपोर्ट उहाँलाई रहेको जानकारी दिए ।'