नेपाली यु २० फुटबल टिम

एएफसी यु २० एसिया कप छनोट खेल्ने टिम घोषणा, साफका ६ खेलाडी परिवर्तन

फाइल फोटो

काठमाडौं । एएफसी यु २० एसिया कप छनोटका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने प्रतियोगिताको लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । यो टिममा यु २० साफ च्याम्पियनसिपका लागि घोषित टिमका ६ खेलाडीलाई परिवर्तन गरिएको छ ।

नयाँ टिममा पूर्व गोलकिपर युनेस चौधरीको ठाउँमा टोपबहादुर रानाले स्थान पाएका छन् ।

यस्तै, टिमको रक्षापङ्तिमा तीन र मिडफिल्डरमा दुई खेलाडी परिवर्तन भएका छन् । नयाँ टिमको डिफेन्समा स्यान्सु भुसाल, राज थोकर र जान ताम्लिले स्थान बनाउँदा मिडफिल्डमा राकेश विश्वकर्मा र सन्जिव लामाले स्थान पाएका छन् ।

बहराइन जाने टिमको मुख्य प्रशिक्षकमा मेघराज केसी, सहायक प्रशिक्षकमा बालगोपाल साहु, गोलकिपर प्रशिक्षकमा उज्वल मानन्धर, टिम व्यवस्थापकमा दिवाकर घले र टिम अफिशियलमा पुरुषोत्तम थापा र भगवान दर्लामीमगर छन् ।

छनोटका लागि नेपाली टिम सेप्टेम्बर आठमा बहराइन जानेछ ।

नेपाल छनोटको समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै घरेलु टिम बहराइन, भुटान, बंगलादेश र कतार छन् ।

नेपालले सेप्टेम्बर १० मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले सेप्टेम्बर १२ मा कतारविरुद्ध, १४ मा बहराइन र १६ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

नेपाली राष्ट्रिय टिमः

गोलरक्षकः इश्वर गुरुङ, टोपबहादुर राना, जियारथ शेख

डिफेन्डरः स्यान्सु भुसाल, जान ताम्लि, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिशेक वाइबा

मिडफिल्डरः राकेश विश्वकर्मा, सन्जिव लामा, दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिश रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान

फरवार्डः निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल