भिएनएल

भिएनएलः बेल्जियमलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

ओट्वा । बेल्जियमलाई सोझो सेटमा हराउँदै साविक विजेता अमेरिका भलिबल नेसन्स कप २०२२ को महिलातर्फ तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।  

क्यानडाको कालगेरीमा जारी प्रतियोगितामा बिहीबार अमेरिकाले बेल्जियलाई २५–१६, २५–२१, २५–१९ को सोझो सेटमा हरायो । प्रतियोगितामा नौ खेल खेलेको अमेरिकाले आठमा जित र एक खेलमा हारको नतिजासहित २४ अंक जोडेको छ । समान खेल खेलेको बेल्जियम तीनमा जित र ६ खेलमा हारसहित ६ अंकका साथ तालिकाको १३औं स्थानमा छ ।

यस्तै, प्रतियोगिताअन्तर्गत पुल–३ को अर्काे खेलमा नेदरल्यान्ड्सले जापानमाथि २३–२५ २५–२०, २४–२६, २५–२१, १५–१० को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्यो । नेदरल्यान्ड्स दुई जित र सात हारसहित आठ अंकका साथ १४औं स्थानमा छ । यता, समान खेलमा आठ जित र एक हारसहित २४ अंक जोडेको जापान तालिकाको दोस्रो स्थानमा छ ।

बिहीबारै बुल्गेरियामा हुने खेलमा थाइयान्ड र डोमिनिकन रिपब्लिक, पोल्यान्ड र चीन तथा कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदैछ ।