एनएसएल

एनएसएलको गृहकार्य सुरु, के भयो आयोजक–एन्फा छलफलमा ?

काठमाडौं । विवादका कारण स्थगित भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भदौमा गर्न गृहकार्य सुरु भएको छ ।

भदौको अन्त्यबाट फ्रेन्चाइज फुटबल लिग (एनएसएल) गर्नका लागि आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वबीच छलफल सुरु भएको छ । बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी तथा एनएसएल आयोजकहरुबीच पहिलो चरणको छलफल भएको थियो ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको छलफलमा एनएसएलको तर्फबाट आयोजक एनएसइएमकी अध्यक्ष आश्रेयता कार्की, एनएसएलका निर्देशक श्रीयांश कार्की र एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्मा सहभागी थिए ।

छलफलमा आयोजकले भदौ २५ देखिको समयमा एनएसएल गर्नका लागि एन्फाबाट सबैखाले सहयोगको प्रस्ताब गरेका थिए । एन्फा नेतृत्वले भने आफूहरु एनएसएल आयोजनाको विषयमा सकारात्मक भए पनि केही प्राविधिक विषय मिलाउनुपर्नेमा जोड दिएको छलफलका एक सहभागीले खेलाडीलाई जानकारी गराए ।

एन्फा नेतृत्वले एनएसएल आयोजनाका लागि विगतमा एन्फा र एनएसइएमबीच भएको सम्झौतालाई यथास्थितीमा कार्यान्वयन गर्न नसकिने प्रष्ट पार्दै आफ्नो कार्यकाल चार वर्षकोमात्र भएकाले त्योभन्दा बढि समयको सम्झौता गर्न नसकिने प्रष्ट पारेको बताइएको छ ।

यसैगरी एन्फा नेतृत्वले कार्यसमितिका बाँकी पदाधिकारी र सदस्य तथा सहिद स्मारक ‘ए’ डिभिजनका क्लबहरुसँग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएको थियो । यसअघि चैतको अन्त्यमै एनएसएलको दोस्रो संस्करण आयोजनाको तयारी गरिए पनि शीर्ष डिभिजनका क्लबहरुको विरोधका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

एनएसएलका सिइओ सुदीप शर्माले बुधबार एन्फाको निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिन गएको बताए । उनले सोही अवसरमा आसन्न एनएसएलवारे पनि प्रारम्भिक छलफलमात्र भएको र त्यसमा एन्फा नेतृत्वलाई सकारात्मक पाएको प्रतिक्रिया दिए ।

असार ६ गतेको चुनावी साधारणसभाले पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुअघि एन्फाको तत्कालिन नेतृत्वले भदौ २५ देखि कात्तिक १० गतेसम्म एनएसएलको दोस्रो संस्करण गर्न मिति उपलब्ध गराएको थियो ।

‘हिजो खासमा हामीले बधाई दिने कार्यक्रम मात्र हो । त्यही बेला एनएसएलको विषयमा के गर्ने, कसरी गर्ने भन्ने प्रारम्भिक कुरा भयो । उहाँहरु सकारात्मक हुनुहुन्छ । तर हिजो कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ज्यु हुनुहुन्नथ्यो । महासचिव ज्यु पनि आज विदेश जाने कार्यक्रम रहेछ । उहाँहरु सबै आइसकेपछि अर्को हप्ता छलफल गर्ने कुरा भएको छ,’ शर्माले खेलाडीसँग भने ।

असार ६ गतेको चुनावी साधारणसभाले पंकजविक्रम नेम्वाङको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुअघि एन्फाको तत्कालिन नेतृत्वले भदौ २५ देखि कात्तिक १० गतेसम्म एनएसएलको दोस्रो संस्करण गर्न मिति उपलब्ध गराएको थियो ।

त्यसअघि एन्फाबाट चैत २५ देखि जेठ १० गतेसम्म प्रतियोगिता गर्न अनुमति पाए पनि एनएसएल आयोजक र सहभागी क्लबहरुले चैत १० गते एकपक्षीय रुपमा स्थगित गरेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरुको विरोधका बीच एन्फाले चौधरी ग्रुपको कम्पनीलाई एनएसएल गर्न उनीहरुले मागेकै समय उपलब्ध गराएको थियो ।

तर अन्तिममा एनएसएलका फ्रेन्चाइज टिमहरुले तयारीलाई समय नपुग्ने भन्दै खेल्न नसक्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो । आयोजक तथा फ्रेन्चाइज टिमहरुले एन्फा र ‘ए’ डिभिजनका क्लबहरुमाथि असहयोगको आरोप लगाउँदै प्रतियोगिता स्थगनको घोषणा गरेका थिए । प्रतियोगिता स्थगनको घोषणा गर्ने क्रममा आयोजक तथा फ्रेन्चाइज टिमहरुले भदौ २५ देखि कात्तिक पाँच सम्मको समय उपलब्ध गराउन एन्फासँग माग गरेका थिए ।

आयोजकको त्यही मागअनुसार कर्माछिरिङ शेर्पा नेतृत्वको निवर्तमान एन्फा कार्यसमितिले निर्वाचनको पूर्वसन्ध्यामा गत जेठ ३० गते आयोजकको मागअनुसार नै एनएसएलका लागि भदौ २५ देखि कात्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको थियो । एन्फाले आयोजकलाई पत्र लेख्दै प्रतियोगिता सञ्चालन हुनुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु चाँही स्वीकृत गराउन आग्रह गरेको थियो ।

पहिलेको पत्र हराएसँगै एन्फा अध्यक्ष शेर्पासँगको छलफलपछि दोस्रो पटक पत्र पठाउनुपरेको उल्लेख गर्दै एनएसइएमले चैत दुई गते पठाएको पत्रमा एन्फालाई सम्पूर्ण अफिसियल, ग्राउन्ड स्टाफ, म्याच कमिस्नर र रेफ्री उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

अघिल्लो वर्ष कोभिड १९ को महामारीका कारण पूरा देश लकडाउनमा हुँदा गतवर्ष बैशाखमा बन्द रंगशालामा विना दर्शक एनएसएलको पहिलो संस्करण गरिएको थियो । पहिलो संस्करणको भव्य सफलताबाट उत्साहित आयोजकले दोस्रो संस्करण सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै गत चैत २५ देखि जेठ १५ सम्म गर्नका लागि एन्फासँग समय माग गर्दै पुस २१ गते पत्राचार गरेको थियो । एन्फाले पहिलेको पत्र हराएको भन्दै अर्को पत्र माग गरेपछि एनएसइएमले चैत दुई गते पुनः पत्र पठाउँदै चैत २५ देखि जेठ १० गतेका लागि समय माग गरेको थियो ।

पहिलेको पत्र हराएसँगै एन्फा अध्यक्ष शेर्पासँगको छलफलपछि दोस्रो पटक पत्र पठाउनुपरेको उल्लेख गर्दै एनएसइएमले चैत दुई गते पठाएको पत्रमा एन्फालाई सम्पूर्ण अफिसियल, ग्राउन्ड स्टाफ, म्याच कमिस्नर र रेफ्री उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

चैत दुईको पत्रमाथि सुनुवाई गर्ने क्रममा एन्फाले सात दिनपछि चैत ९ गते आयोजकको मागबमोजिम नै मिति उपलब्ध गराएको थियो । तर आफ्नै मागबमोजिमको समय पाएको भोलिपल्ट चैत १० गते आयोजक र सहभागी फ्रेन्चाइज टिमहरुले एकपक्षीय तरिकाले प्रतियोगिता स्थगनको घोषणा गरेका थिए ।

यसबीचमा शीर्ष डिभिजनका आठ क्लबले एनएसएलको विरोधमा आन्दोलन चलाएका कारण यसअघि नै दुई लिग भइरहेको देशमा तेस्रो लिग आयोजनाको विषय थप पेचिलो बनेको थियो । आयोजकले एन्फा तथा व्यावसायिक फुटबलका लागि खेलाडी अनुबन्ध गरेर खेलिरहेका क्लबहरुसँग कुनै समन्वय नगरी आफूखुसी ढंगमा तयारी थालेपछि शीर्ष डिभिजनका क्लबहरु सशंकित बनेका थिए ।

क्लबहरुको अनुरोधका आधारमा एन्फाले फागुन २० को अक्सन रोक्न एनएसएललाई निर्देशन दिएको थियो । तर एनएसएलले त्यसको बेवास्था गर्दै अक्सनमार्फत सहभागी सबै १० फ्रेन्चाइज टोलीमा खेलाडी अनुबन्धन गराएको थियो ।

सहिद स्मारक लिग च्याम्पियन मछिन्द्र, कीर्तिमानी आठ पटकको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी, थ्री स्टार, संकटा, न्युरोड टिम (एनआरटी), सातदोबाटो युथ, जावलाखेल युथ र फ्रेन्ड्स क्लबले अनुमतिविना एनएसएलको अक्सनमा आफ्ना खेलाडी सुचीकृत गरिएको तथा विभिन्न फ्रेन्चाइज टिमले मार्की खेलाडी भन्दै घोषणा गरेकोमा गम्भीर आपत्ति जनाएका थिए । सुरुमा आठ क्लबले सुरु गरेको आन्दोलनबाट विस्तारै चार क्लब पछि हटे भने थ्री स्टार, एमएमसी, संकटा र एनआरटी अन्तिमसम्म आफ्नो मुद्धामा कायम थिए ।

क्लबहरुको अनुरोधका आधारमा एन्फाले फागुन २० को अक्सन रोक्न एनएसएललाई निर्देशन दिएको थियो । तर एनएसएलले त्यसको बेवास्था गर्दै अक्सनमार्फत सहभागी सबै १० फ्रेन्चाइज टोलीमा खेलाडी अनुबन्धन गराएको थियो ।

एन्फाको निर्णय अटेर गर्दै एनएसएलले अक्सन गरेपछि असन्तुष्ट क्लबको आक्रोष अझै थपियो । जसका कारण केही महिनामै चुनाव गर्ने तयारीमा रहेको नेपाली फुटबलको सर्वोच्च निकाय एन्फामाथि एनएसएल रोक्नुपर्ने दबाब चुलियो ।

एन्फाले समस्या समाधानका लागि भन्दै तत्कालिन अध्यक्ष शेर्पाको संयोजकत्वमा सात सदस्यीय विवाद समाधान कार्यदल बनाउनुपर्यो । कार्यदलले एनएसएल आयोजक तथा सहिद स्मारक ‘ए’ डिभिजन लिगका असन्तुष्ट क्लबहरुसँग छलफल चलाइरहेकै थियो ।

एनएसएल आयोजकले पनि आफ्नो तयारी समानान्तर रुपमा अगाडि बढाइरहेको थियो । यसैक्रममा चैत दुई गते प्रतियोगिताका लागि मिति उपलब्ध गराउन अनुरोध गरेर दोस्रो पटक लेखेको पत्रमा एनएसइएमले एन्फालाई ६ गते टाइसिट ड्र गर्ने जानकारी गरायो । जसले संघर्षरत क्लबहरुको आक्रोषको आगोमा घ्यु थप्ने काम गर्यो ।

शेर्पा नेतृत्वको कार्यदल र चार असन्तुष्ट क्लबबीचको छलफलपछि क्लबहरुको मागअनुसार टाइसिट ड्र रद्द गर्न एन्फाले आयोजकलाई निर्देशन दियो । एन्फाको निर्देशन अटेर गर्दै अक्सन गराएको एनएसएलले यसपाली भने टाइसिट ड्र रोक्यो । त्यसको तीन दिनपछि एन्फाबाट आफूले प्रस्ताब गरेकै मिति पायो । तर आफैंले माग गरेको मितिमा प्रतियोगिता गर्न नसक्ने भन्दै प्रतियोगिता स्थगित गरियो ।

एनएसएल स्थगित भएसँगै एन्फाका सबै पदाधिकारीहरु चुनावी मैदानमा उत्रिए । जहाँ एनएसएल पनि चुनावको मुख्य एजेन्डा बन्यो । शेर्पा प्यानलले घोषित रुपमै आफूहरुले नेपाली फुटबलको विकासका लागि एनएसएल आयोजना गरेको भन्दै मत माग्यो । तत्कालिन वरिष्ठ उपाध्यक्ष (हालका अध्यक्ष) नेम्वाङ पक्षले भने एनएसएलमार्फत दशकौंदेखि नेपाली फुटबलमा योगदान गर्दै आएका क्लबहरुको अस्तित्व मेटाउने षडयन्त्र हुँदा आफूहरुले बचाएको भन्दै क्लबहरुको सहानुभुति जित्ने प्रयास गरेका थिए ।

एनएसएलको प्रस्तावित दोस्रो संस्करणमा १० टोली सहभागी गराउने आयोजकको तयारी छ । गत संस्करणमा सात टिमबीच प्रतियोगिता भएको थियो । प्रस्तावित दोस्रो संस्करणमा गत संस्करणको विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी एफसी, ललितपुर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी, पोखरा धन्डर्स, एफसी चितवनसँगै यसपाली थप गरिएका नयाँ क्लबहरु झापा एफसी, मेची–इलाम र वीरगञ्ज युनाइटेड छन् ।