काठमाडौं । इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले ब्राजिलियन राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
ब्राजिलियन फुटबलका अध्यक्ष एडनाल्डो रोड्रिगेजले सोमबार एन्सेलोटीलाई राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिए ।
एन्सेलोटी यो सिजनको अन्त्यमा स्पेनिस क्लब रियाल मड्रिड छाड्दै छन् । त्यसपछि उनले सन् २०२६ को फिफा विश्वकपसम्मका लागि ब्राजिलियन टोली सम्हाल्ने बताइएको छ ।
केही दिन अगाडि भने एन्सेलोटीले ब्राजिलियन फुटबल संघको प्रस्ताव अस्विकार गरेका थिए । तर रियालले सम्झौता नविकरण नगरेपछि उनी ब्राजिलको प्रशिक्षक बन्न राजी भएका हुन् ।
रियालले एन्सेलोटीको स्थानमा आफ्ना पूर्व मिडफिल्डर जाभी अलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।
उनले मे २६ देखि आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ । गत महिना अर्जेन्टिनासँगको ४-१ को हारपछि डोरिभल जुनियरलाई बर्खास्त गरेयता ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा थियो ।
६५ वर्षीय अनुभवी प्रशिक्षक एन्सेलोटी पहिलो पटक राष्ट्रिय टोलीको नेतृत्व गर्दैछन् । उनले रियालसँगै पार्मा, युभेन्टस, एसी मिलान, पेरिस सेन्ट जर्मन (पिएसजी), बायर्न म्युनिख, नापोली र एभरटनको प्रशिक्षण सम्हालेका छन् ।
पाँच पटकका फिफा विश्वकप च्याम्पियन र युरोपका उत्कृष्ट प्रतियोगितामा कीर्तिमान बनाएका प्रशिक्षकको संगमले हामी निकै उत्साहित छौं,’ ब्राजिलियन फुटबल संघले भनेको छ,‘ हामी एन्सेलोटीलाई स्वागत गर्दछौं र उनको नेतृत्वमा टोली सफलताको नयाँ युगमा पुग्ने विश्वास लिएका छौं ।’
यस्तै ब्राजिलियन फुटबल संघले एन्सेलोटीसँगको सम्झौता बाँकी रहँदै रिलिजका लागि सहजिकरण गरेको रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई पनि धन्यवाद दिएको छ ।
रियाल र एन्सेलोटीबीचको सम्झौता सन् २०२६ को जुनसम्म थियो ।