रोवर्ट लेवान्डोवस्की

लेवान्डोवस्की विश्वकै उत्कृष्ट स्ट्राइकरः माने

म्युनिख । पछिल्लो हप्तामात्र इङ्लिस क्लब लिभरपुलबाट बायर्न म्युनिख अनुबन्धित भएका फरवार्ड साडियो मानेले रोवर्ट लेवान्डोवस्की विश्वकै उत्कृष्ट स्ट्राइकरमध्येको एक भएको बताएका छन् ।

पछिल्लो समय लेवान्डोवस्की स्पेनिस क्लब बार्सिलोना जाने खबरहरुले निकै चर्चा पाइरहेको छ । पछिल्लो आठ वर्षदेखि बायर्नबाट खेलिरहेका लेवान्डोवस्कीले १२ सिजन बुन्डोसलिगामा बिताइसकेका छन् ।

यता, पछिल्लो ६ सिजन लिभरपुलमा बिताएका माने भने इङ्लिस क्लबसँगको सम्झौता एक वर्ष बाँकी रहँदै बायर्नमा अनुबन्धित भएका हुन् ।

‘स्पष्ट रुपमा लेवान्डोवस्की विश्वकै एक उत्कृष्ट स्ट्राइकर हुन्,’ मानेले भने, ‘तर, म उनको भविष्यको बारेमा कुरा गर्न वा अहिले क्लबले के गर्नुपर्छ भन्ने सल्लाह दिनका लागि सही व्यक्ति होइन ।’

सन् २०१४ देखि बायर्नबाट खेलिरहेका लेवान्डोवस्कीले त्यसअघिका चार सिजन बोरुसिया डर्टमन्डमा बिताएका थिए ।