भिएनएल

भिएनएलः जर्मनीमाथि नेदरल्यान्ड्सको जित

मनिला । जर्मनीलाई ३–१ को सेटमा हराउँदै नेदरल्यान्ड्सले भलिबल नेसन्स लिग (भिएनएएल) को पुरुषतर्फ चौथो जित निकालेको छ ।

फिलिपिन्सको राजधानी मनिलास्थित क्युजोन सिटीमा शुक्रबार सम्पन्न पुल–३ को खेलमा जर्मनीमाथि नेदरल्यान्ड्सले २२–२५, ३१–२९, २५–२३, २५–१६ को सेटमा जित निकाल्यो ।

जितसँगै प्रतियोगितामा सात खेलबाट १२ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको छैटौं स्थानमा छ । समान खेल खेलेको जर्मनी सात अंकका साथ १०औं स्थानमा छ ।

मनिलामा नै जारी अर्काे खेलमा अर्जेन्टिना र चीनबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, बुल्गेरियामा हुने खेलमा सर्बिया र क्यानडा, इरान र ब्राजिल, अस्ट्रेलिया र बुल्गेरियाबीच प्रतिस्पर्धा हुनेछ । आजै मनिलामा हुने अर्को खेलमा जापान र इटाली प्रतिस्पर्धा गर्नेछन् ।

एफआइभीबीले जारी गरेको वरीयताको आधारमा शीर्ष १६ मा पर्ने टिमले यो प्रतियोगिता खेल्न पाउनेछन् । तर, युक्रेनमाथि सैन्य आक्रमण गरेपछि रुस र बेलारुसलाई यो प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो । जसका कारण रुसको स्थानमा बुल्गेरियाले मौका पाएको थियो ।

प्रतियोगितामा पाँच खेल खेलेको बुल्गेरिया एक जित र चार हारसहित पाँच अंकका साथ १५औं स्थानमा छ ।