मुख्यमन्त्री कप भलिबल

मुख्यमन्त्री कपः आर्मी फाइनलमा

काठमाडौं । त्रिभुवन आर्मी क्लब शुक्रबार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कैलालीको धनगढीमा सम्पन्न पहिलो सेमिफाइनलको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ को सेटमा हराउदै आर्मीले फाइनलको टिकट काटेको हो । आर्मीले एपिएफमाथि २५–२१, २५–१६,२४–२६, २५–१८ ले जित निकाल्यो ।

शुक्रबारै जारी सेमिफाइनलको दोस्रो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुईबीचको विजेताले फाइनलमा आर्मीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

सुदूरपश्चिम प्रदेशको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, स्पाइकर, ब्लकर, लिब्रो, सर्भर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।