वैकुण्ठ मानन्धर

पूर्व धावक मानन्धर सम्मानित

काठमाडौं । पूर्व धावक वैकुण्ठ मानन्धरलाई शुक्रबार काठमाडौं युरो स्कुल-युरो किड्सले नगदसहित सम्मानित गरेको छ ।

युरो स्कुलको वार्षिक खेलकुद दिवसको समापनमा स्कुलका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक दीपक गुप्ता, ज्ञानेन्द्रमान जोशी र राजाराम पुडासैनीले धावक मानन्धरलाई सम्मानित गरेका हुन् ।

मानन्धरले दक्षिण एसियाली खेलकुद (साग) मा लगातार तीन स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । सन् १९८७ मा भारतमा भएको सागको तेस्रो संस्करणमा मानन्धरले बनाएको दुई घण्टा १५ मिनेट तीन सेकेन्डको कीर्तिमान अझै पनि कायम छ । चार फरक संस्करणको ओलम्पिकमा सहभागी भएका मानन्धरले एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरिसकेका छन् ।

पाँचदिने खेलकुद दिवसको समापनमा मानन्धरले विभिन्न खेलका पदक विजेतालाई पुरस्कृत गरेका थिए । खेलकुद दिवसमा ब्याडमिन्टन, टेबलटेनिस, बास्केटबल, फुटबल र एथलेटिक्समा प्रतिस्पर्धा भएको थियो ।