पिएम कप भलिबल

पिएम कपः पुलिसको पहिलो हार

काठमाडौं । भारतको हरियाना स्पोर्टस् क्लबले शुक्रबार प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

नेपालगञ्जस्थित कभर्डहलमा सम्पन्न खेलमा हरियाना स्पोर्टस्ले नेपाल पुलिस क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हरायो । पहिलो र दोस्रो सेट क्रमशः २५–१७, २५–१९ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो र चौथों सेट १८–२५, १६–२५ ले हार्न पुग्यो । तर, अन्तिम निर्णायक सेटमा भारतीय टोलीलाई कडा चुनौती प्रस्तुत गरेको पुलिसले १३–१५ ले सेट गुमाउन पुग्यो ।

पुलिसले यसअघि आयोजक टोली लुम्बिनी युनाइटेड क्लबलाई सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको थियो । प्रतियोगितामा दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको पुलिसले तीन अंक जोडेको छ ।

प्रतियोतिगामा आफ्नो पहिलो खेल खेलेको हरियानाले पनि समान तीन अंक बनाएको छ ।

शुक्रबारै जारी खेलमा न्यु डायमन्ड एकेडेमी र भारतीय टोली एकलव्य स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

पिएम कपमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, लुम्बिनी र हरियाना छन् । समूह ‘बी’ मा न्यु डायमन्ड, त्रिभुवन आर्मी र एकलव्य स्पोर्टस् छन् ।