नेपाली क्रिकेट

नेपाल ६ रनले पराजित

काठमाडौं । पपुवा न्यु गिनीविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ६ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ८६ रनमात्र बनाउन सक्यो ।

नेपालका रोहितकुमार पौडेलले एक सय २६ रनको सतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

रोहितबाहेक, नेपाली टोलीको खातामा ओपनर कुशल भुर्तेलले ३२ रन थप्दा आरिफ शेखले ३४, भिम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे ।

स्कोरबोर्डमा ७३ रन जोड्दा चार विकेट गुमाएर दबाबमा आएको नेपालको इनिङ रोहित र आरिफले पाँचौ विकेटका लागि एक सय चारको साझेदारी गर्दै उकासेका थिए ।

यसबाहेक, पवन सर्राफले सात रनमा आउट हुँदा अर्का ओपनर अनिल साह ६ रनमा पभेलियन फर्किए । नेपाली टोलीबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका देव खनालको ब्याटिङ भने बिर्सनलायक रह्यो । उनी सुन्य रनमै आउट भए ।

पिएनजीका नोर्मन भानुअले तीन विकेट लिए । यस्तै, असद भाला र चार्ल्स एमिनीले समान दुई विकेट लिँदा नोसैना पोकानाले एक विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९२ रनको योगफल तयार पारेको थियो ।

२१ रन जोड्दा ओपन हिरी हिरीलाई गुमाएको पिएनजीको  इनिङ दोस्रो विकेटका लागि टोनी उरा र असद भालाले ४९ रनको साझेदारी गर्दै उकासेका थिए ।

उराले ४७ बलमा ६ चौका मद्दतमा ३८ रन जोडे । तेस्रो विकेटका लागि भाला र अमिनीले ७४ रनको साझेदारी गरेपछि पिएनजी सम्मानजनक योगफलतर्फ अघि बढेको थियो ।

भालाले ५५ बलमा ११ चौका मद्दतमा ६० रन जोड्दा अमिनीले एक सय तीन बलमा ६ चौका र एक छक्कासहित ७७ रन जोडे ।

अमिनीले रिले हकुरेसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । रिलेले ४० बलमा ५ चौका मद्दतमा ३१ रन जोडे । त्यस्तै नोमार्न भानोउले ४७ रन जोडे ।

नेपालका लागि सोमपाल कामी,कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा पवन सर्राफ र कप्तान सन्दिप लामिछानेले समान एक विकेट लिए ।

जितसँगै दुई एकदिवसीय खेलको शृंखलामा पिएनजीले १-० को अग्रता बनाएको छ ।