च्याम्पियन्स लिग

यस्ता छन् च्याम्पियन्स लिग क्वाटरफाइनल पुग्ने टिम

लन्डन । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता हो, युइएफए च्याम्पियन्स लिग । युरोपेली फुटबलका महारथी टोलीबीच हुने भिडन्तबाट प्रत्येक सिजन आश्चर्यलाग्दा र रोचक नतिजाको अपेक्षा रहन्छ । र, त्यो पूरा पनि हुँदै आएको छ ।

जारी सिजन पनि सात पटकका बालन डी’अर विजेता लियोनल मेसीको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम १६ बाटै बाहिरिइसकेको छ । पाँच पटकका बालन डी’अर विजेता क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडले पनि क्वाटरफाइलनमा स्थान बनाउन सकेन ।

साबिक विजेता चेल्सी र उपविजेता म्यानचेस्टर सिटी भने अन्तिम ८ सम्म आइपुगेका छन् । यी दुई टोलीसँगै स्पेनबाट रियाल र एट्लेटिको मड्रिड, भियारियाल क्वाटरफाइनलमा पुग्दा पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम ८ मा आइपुगेको छ । इङ्ल्यान्डबाट थप एक टोली लिभरपुलले पनि क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

पछिल्लो एक दशकभन्दा लामो समय विश्व फुटबलमा राज गरेका मेसी र रोनाल्डो दुवैका लागि स्पेनिस टोली बाधक बने । प्रतियोगिताको सर्वाधिक सफल टोली रियाल मड्रिडसँग समग्रमा ३-२ को नतिजामा पराजित हुँदै पिएसजी बाहिरिनुपर्यो । युनाइटेडलाई एट्लेटिको मड्रिडले २-१ को समग्र नतिजामा रोकेको हो ।

विश्व फुटबलका दुवै बादशाहको क्लब बाहिरिए पनि प्रतियोगिता कम रोमाञ्चक भएको छैन, जसको कारण क्वाटरफाइनल ‘ड्र’ हो । समूह चरणबाट शीर्ष दुईमा रहँदै अन्तिम १६ हुँदै क्वाटरफाइनलसम्म आइपुगेका आठ टोलीले सेमिफाइनल प्रवेशका लागि एक आपसमा भिड्ने छन् ।

प्रतियोगिताको सर्वाधिक सफल टोली रियाल र साबिक विजेता चेल्सी सेमिफाइनल प्रवेशका लागि भिड्दा गत वर्षको सेमिफाइनल स्मरण हुनेछ । गत वर्ष  सेमिफाइनलमा चेल्सीले रियालविरुद्ध समग्रमा ३-१ गोलको जित निकाल्दै फाइनल यात्रा तय गरेको थियो ।

गत वर्षको उपविजेता म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग खेल्नेछ । गत सिजनको फाइनलमा चेल्सीसँग १-० ले पराजित सिटी पहिलो पटक फाइनलमा पुगेर पराजित भएको थियो ।

यस्तै, गत वर्ष क्वाटरफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग समग्रमा ३-३ गोलको नतिजा निकाले पनि ‘अवे’ गोलका आधारमा बायर्न म्युनिख बाहिरिएको थियो ।

यद्यपि अवे गोलको नियम यो वर्षदेखि हटिसकेको छ । र, बायर्नले सेमिफाइनल प्रवेशका लागि गत वर्षको युरोपा लिग विजेता भियारियालसँग खेल्नेछ ।

लिभरपुल र पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउने कोसिसमा हुनेछ । गत सिजनको क्वाटरफाइनलमा रियाल मड्रिडसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको लिभरपुल सन् २०१९ को च्याम्पियन लिभरपुल यो वर्ष पनि उपाधि दाबेदार टोली हो ।

आठ टोलीको क्वाटरफाइनल यात्रा

बायर्न म्युनिख: आरबी साल्जबर्गलाई समग्रमा ७-१ को नतिजामा हराउँदै क्वाटरफाइनलमा पुगेको जर्मन च्याम्पियन बायर्न प्रतियोगिताको बलियो दाबेदार हो । पहिलो लेगमा अस्ट्रियन टिम साल्जबर्गसँग बराबरीमा रोकिनुपरेको बायर्नले दोस्रो लेगमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा ७-१ को नतिजा निकालेको थियो । समूह ‘ई’बाट परेको बायर्नले शतप्रतिशत नतिजासहित विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो । समूह चरणका ६ खेलमा ६ जित निकाल्ने क्रममा बायर्नले २२ गोल गरेको थियो ।

लिभरपुल: योर्गन क्लोपको टोली बलियो प्रतिद्वन्द्वी इन्टर मिलानविरुद्ध समग्रमा २-१ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम ८ मा पुग्यो । पहिलो लेगमा इन्टरको मैदानमा हासिल गरेको २-० को जित लिभरपुलका लागि अन्तिम ८ मा पुर्याउने माध्यम बनेको थियो । दोस्रो लेगमा घरेलु मैदानमा १-० ले पराजित भए पनि समग्रमा २-१ नतिजा निस्कँदा लिभरपुल तीन वर्षपछि सेमिफाइनल नजिक पुगेको हो ।

म्यानचेस्टर सिटी: कहिल्यै नजिते पनि सदाबहार उपाधि दाबेदार क्लब हो, सिटी । पेप ग्वार्डिओला आफ्नो कार्यकालको अन्तिम सिजन भएकाले उनी जसरी पनि यो उपाधि जित्न चाहन्छन् । समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको सिटीले स्पोर्टिङ सिटीविरुद्ध समग्रमा ५-० को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको थियो । गत वर्ष फाइनलसम्म पुगेर पनि उपाधिविहीन बनेको सिटीले सबैभन्दा जित्न चाहेको उपाधि हो यो ।

रियाल मड्रिडः सर्वाधिक सफल (१३ पटकको च्याम्पियन) रियाल मड्रिडले यसपालि पिएसजीविरुद्धको पुनरागमनपछि आफ्नो दाबेदारी झन बनाएको छ । फ्रेन्च महारथी पिएसजीमाथि समग्रमा २-३ को जित निकाल्दै रियाल अन्तिम ८ मा पुगेको हो । समूह ‘डी’मा रहेको रियाल ६ खेलबाट ५ जित निकालेर विजेता बन्दै अन्तिम ८ मा पुगेको थियो । रियालले सेमिफाइनल पुग्नका लागि साबिक विजेता चेल्सीको चुनौती पार गर्नुपर्नेछ ।

बेन्फिका: बलियो मानिएको डच टोली अयाक्सलाई घरेलु मैदानमा पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो बेन्फिका । सन् २०१२ पछि पहिलो पटक क्वाटरफाइनलमा आइपुगेको बेन्फिका समूह ‘ई’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । १० वर्षपछि अन्तिम ८ मा आइपुगेको बेन्फिकाले अन्तिम चारमा स्थान बनाउन लिभरपुललाई पराजित गर्नुपर्नेछ । यद्यपि, उत्कृष्ट लयमा रहेको लिभरपुललाई रोक्नु बेन्फिकाका लागि कम चुनौती हुने छैन ।

एट्लेटिको मड्रिडः डिएगो सिमोनीको क्लब सधैं बलिया आँकिएका प्रतिद्वन्द्वीलाई रोक्दै अगाडि बढ्ने सामथ्र्य राख्छ । र, यसपालि अन्तिम १६ मा पनि तुलनात्मक रूपमा कठिन मानिएको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एट्लेटिकोले फेरि आफ्नो सामथ्र्य कायम गर्यो । समूह ‘बी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको एट्लेटिकोले अगाडि बढ्न बलियो प्रतिद्वन्द्वी सिटीलाई परास्त गर्नुपर्नेछ । सन् २०१७ मा पछिल्लो पटक सेमिफाइनलमा पुगेको एटलेटिको त्यसयता २०२० मा पछिल्लो पटक क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

भियारियाल: इटालियन महारथी युभेन्ट्सविरुद्धको दोस्रो लेगमा ३-० को सानदार जित निकाल्दै भियारियालले २००९ पछि पहिलो पटक क्वाटरफाइनल यात्रा तय गर्यो । गत वर्षको युरोपा लिग विजेताको हैसियतमा प्रतियोगितामा छनोट भएको भियारियालले हालसम्म एक पटक मात्रै २००६ मा सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसयता यो सिजनसहित चौथो पटक मात्रै प्रतियोगितामा छनोट भएको भियारियालको भेट बायर्नसँग निश्चित भइसकेको छ । समूह ‘एफ’ को उपविजेता हैसियतमा भियारियाल अन्तिम १६ मा आइपुगेको थियो ।

चेल्सी: साबिक विजेता चेल्सी पनि उपाधि दाबेदारमध्ये एक टोली हो । युरोपेली तथा क्लब विश्वकप च्याम्पियन चेल्सीले गत वर्षजस्तै प्रदर्शन गरेर च्याम्पियन्स लिग यात्रा अगाडि बढाउला त ? त्यो हेर्न बाँकी छ ।