टेनिस टोली पाकिस्तान जाँदै

काठमाडौं, (खेलाडी)- आइटिएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागी हुन पाँच खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली शुक्रबार पाकिस्तानको इस्लामाबाद जाने भएको छ ।

सेप्टेम्बर १३ देखि १५ सम्म हुने प्रतियोगितामा तीन पुरुष र दुई महिला गरी पाँच खेलाडीले भाग लिने छन् । पुरुषमा बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलामा शिभाली गुरुङ र मान्सा कँडेलले इस्लामाबादमा नेपालको प्रतिनिधित्व गर्नेछन् । कृष्णराज घलेले नेपाली टोलीमा प्रशिक्षकको रुपमा नेतृत्व प्रदान गर्नेछन् ।

अभिभावकहरु विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सिमान्त गुरुङ र पर्शुराम कँडेल पनि टोलीसंगै पाकिस्तान जाने छन् ।

नोभेम्बर २२ देखि ताजकिस्तानमा हुने एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनको दक्षिण एसियाली छनोटका रुपमा प्रतियोगिता हुन लागेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पुरुष/महिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।