राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप

सुस्मिता र रिक्साङ च्याम्पियन

काठमाडौं । नेपाल पुलिस क्लबकी सुस्मिता थापा र बागमती प्रदेशका रिक्साङ तामाङ आठौं राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

रामेछाप आइटिएफ तेक्वान्दो संघको आयोजना तथा खाँडादेवी गाउँपालिका र खाँडादेवी गाउँपालिकाको वडा-७ को सहआयोजनामा भएको प्रतियोगितामा सुस्मिता महिला र रिक्साङ पुरुषतर्फ च्याम्पियन भएका हुन् । 

सुस्मिता र रिक्साङले च्याम्पियन ट्रफीका साथै ५० हजार रुपैयाँ प्राप्त गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

सुस्मिताले फाइनलमा कोसी प्रदेशकी कुसुम राजवंशीलाई हराइन् । रिक्साङले भने फाइनलमा आयोजकका निर्मल लामालाई पराजित गरे । दोस्रो स्थानमा सीमित कुसुम र निर्मलले ४० हजार रुपैयाँ पाए ।

पुरुषतर्पm नेपाल पुलिस क्लबका श्रीप्रसाद बुढाले तेस्रो स्थान प्राप्त गरे । महिलामा भने आर्मीकी निकिता धिमाल तेस्रो भइन् । यी दुवैले ३० हजार रुपैयाँ, ट्रफी र पदक प्राप्त गरे । प्रतियोगिताका विजेतालाई खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, वडा-७ का अध्यक्ष सिरे तामाङले पुरस्कृत गरेका थिए । 

उक्त कार्यक्रमका प्रमुख अथिति खाडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमारले देशमा खेल क्षेत्र विकासका लागि हरेक स्थानीय तहको भूमिका अहम् हुने र त्यसका लागि सबै स्थानीय तहले प्रयत्न गर्नुपर्ने आवश्यक औंल्याए ।

वा ७ का अध्यक्ष तामाङले आफ्नो वडाले खेलाडीहरूलाई प्रोत्साहका साथै खेलकुद विकासका कामहरू गरिरहेको उल्लेख गर्दै आगामी वर्षमा पनि प्रोफेसनल आइटिएफ तेक्वान्दो खेल प्रतिस्पर्धालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 प्रतियोगितामा आयोजक, सात प्रदेशका साथै तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीले छनोटबाट समान दुई पुरुष र दुई महिला खेलाडी मात्र प्रतिस्पर्धा गराउन पाउने प्रावधानअनुरूप प्रतिस्पर्धा गरेको आयोजक रामेछाप आइटिएफ तेक्वान्दो संघका सचिव सपूत मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला, नेपाली राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक विष्ट र नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले गरेका थिए ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ भएको प्रतियोगितामा देशभरका ४४ खेलाडी सहभागी थिए । प्रतियोगितामा महिलातर्फ ४७ देखि ५५ र पुरुषमा ५० देखि ५७ केजी तौलसमूहका खेलाडीले प्रोफेसनल आइटिएफ  प्रतिस्पर्धा गरेका थिए ।