पल्सर स्पोर्टस अवार्ड २०७९

उत्कृष्ट पुरुष र महिला खेलाडीको मनोनयनमा एथ्लेटिक्सको बर्चस्व

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०७९ को मनोनयनमा एथ्लेटिक्स खेलाडी हावी भएका छन् । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयनमा आठ÷आठ खेलाडीको नाम सार्वजनिक गर्दा एथ्लेटिक्सबाट मात्र पाँच खेलाडी परेका छन् । विगतका संस्करणहरुमा पाँच खेलाडीको मात्र मनोनयन सार्वजनिक हुने गरेकोमा यसपाली अर्को आइतबार हुने अवार्डको २०औं संस्करणका लागि मञ्चले प्रारभ्मिक मनोनयनमा आठ खेलाडीको नाम सार्वजनिक गरेको छ । त्यसबाट शीर्ष तीन खेलाडीको मनोनयन पुनः गरिने बताइएको छ ।

उत्कृष्ट आठको मनोनयनमा एथ्लेटिक्सबाट पुरुषतर्फ दीपक अधिकारी र मुकेश पाल तथा महिलामा जयरानी थारु, राजपुरा पछाई र पुश्पा भण्डारी परेका छन् । क्रिकेटबाट पुरुषतर्फ राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र ओपनर आसिफ शेख गरि दुई खेलाडी परेका छन् ।

यसैगरी पुरुषतर्फ भलिबलका मानबहादुर श्रेष्ठ पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ परेको मञ्चले जनाएको छ ।

महिलातर्फ फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, जुडोकी पुनम श्रेष्ठ र ट्रायथलनका श्रेवी महर्जन पनि उत्कृष्ट आठमा पर्न सफल भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ वर्ष २०७९ को एकदिवसीय अन्तर्राष्ट्रियमा कुल १ हजार ९३ रन बनाउन सफल खेलाडी हुन् । विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध ११० रनको शतकीय इनिङ खेलेका आसिफ एकदिवसीय अन्तर्राष्ट्रियमा ७ अर्धशतक बनाउन सफल नेपाली खेलाडी हुन् ।

दीपकले गतवर्ष नेपालमै भएको एसियाली क्रसकन्ट्री दौडमा २ स्वर्ण पदक जित्नुका साथै घरेलु प्रतियोगितामा ३ स्वर्ण र १ रजत पदक जितेका थिए । गतवर्ष एसियाली क्रसकन्ट्रीमा पुरुष १० किलोमिटरका साथै पुरुष टिम इभेन्ट्समा स्वर्ण पदक जितेका थिए ।

त्यस्तै मुकेशले १६औं एसियाली क्रसकन्ट्रीमा पुरुष टिम इभेन्ट्समा स्वर्ण पदकका साथै पुरुष १० किलोमिटर दौडमा कांस्य पदक जितेका थिए । यसका साथै उनले वर्ष २०७९ मा घरेलु प्रतियोगितामा तीन स्वर्ण, एक रजत र एक कांस्य पदक पनि जितेका थिए ।

नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठका लागि वर्ष २०७९ निक्कै सफल रहयो । त्यही वर्ष उनले आफ्नै कप्तानीमा दिल सुनारसँग मिलेर बंगलादेशमा सम्पन्न काभा पुरुष बिच भलिबलमा रजत पदक जितेका थिए ।

पौडीमा नासिरले गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक ७ स्वर्ण २ रजत र १ कांस्य जितेका थिए ।

यसैगरी नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउँदाका कप्तान रोहितले त्यही वर्ष २७ एकदिवसीय अन्तर्राष्ट्यि खेल खेल्दै चार अर्धसतकसहित ६७९ रन बनाएका थिए । त्यसमा आयरल्यान्डविरुद्ध बनाएको ९५ रनको इनिङ पनि समावेश छ ।  

बुद्धिचालका रुपेसले गत वर्ष छत्तीसगढ चिफ मिनिस्टर ट्रफी अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर चेसमा विदेशी इभेन्ट्समा रजत पदक जित्नुका साथै नवौं राष्ट्रिय खेलकुदमा र्यापिड र ब्लिट्जतर्फ दोहोरो स्वर्ण र क्लासिकलमा रजत पदक जितेका थिए ।

नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाललाई टिम च्याम्पियन बनाउन सफल युवा गल्फर सुवासले बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगततर्फ रजत तथा नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगतमा स्वर्ण पदक जितेका थिए ।

यसैगरी महिलातर्फ मनोनयनमा पर्ने मध्ये फुटबलकी अमिशा साफ महिला च्याम्पियनसिपमा रजत पदक जित्ने नेपाली टोलीकी सदस्य हुन् । प्रतियोगितामा उनले दुई गोल गरेकी थिइन । त्यस्तै साफ यु–२१० महिला च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने क्रममा उनले सर्वाधिक चार गोल गरेकी थिइन ।

त्यस्तै माल्दिभ्समा सम्पन्न साबा महिला च्याम्पियनसिपमा रजत पदक जित्ने नेपाली महिला टिमकी सदस्य अनुशाले नवौं राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशबाट रजत पदक जितेकी थिइन ।

नवौं राष्ट्रिय खेलकुदमा ९ स्वर्ण र १ रजत जित्न सफल पौडीवाज डुवानाले त्रिभुवन आर्मी क्लबबाट खेल्दै सर्ट कोर्समा ५ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन ।

नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका सबै पाँच विधामा स्वर्ण पदक जितेकी जयरानीले त्यसक्रममा तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । त्यस्तै ४४औं राष्ट्रिय एथलेटिक्समा उत्कृष्ट खेलाडी घोषित उनको नाममा दुई राष्ट्रिय कीर्तिमानसहित चार स्वर्ण र एक रजत पदक थियो ।

पुष्पाले गतवर्ष बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीतिमानसहित स्वर्ण पदक जित्नुका साथै १६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपको महिला टिममा रजत पदक जितेकी थिइन ।

१६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा दोहोरो रजत पदक विजेता राजपुराले वर्ष २०७९ मा घरेलु प्रतियोगितातर्फ तीन स्वर्ण र दुई रजत पदक जितेकी थिइन ।

यसैगरी मनोनयनमा परेकी जुडोकी पुनमले बिस्केक एसियाली सिनियर खुला जुडो च्याम्पियनसिपमा कांस्य तथा नवौं राष्ट्रिय खेलकुदमा आफ्नो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन ।

ट्रायथलनकी श्रेवीले एसियन कप ट्रायथलन तथा दक्षिण एसियन कप ट्रायथलन तथा नवौं राष्ट्रिय खेलकुदमा महिला स्प्रिन्टतर्फ रजत पदक जितेकी थिइन ।

वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चका महासचिव एवं खेलाडी छनोट समितिका संयोजक प्रज्ज्वल ओलीले जनाएका छन् । विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पिपल्स च्वाइस अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा पनि समावेश छन् ।

उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।