सहिद स्मारक ‘सी’ डिभिजन लिग

बागमती शीर्ष स्थानमा

काठमाडौं । रानीवन स्पोर्टस क्लबविरुद्ध ३-१ को सहज जित निकाल्दै बागमती युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा शुक्रबार बागमतीलाई जित दिलाउन दीपेश राईले दुई र सिर्जनराज गौतमले एक गोल गरे । रानीवनका लागि विष्णु चौधरीले गोल फर्काए ।

जितसँगै बागमतीले सात खेलमा १६ अंक जोडेको छ । पराजित रानीवन सामन खेलबाट ६ अंकका साथ १२औं स्थानमा छ ।

खेलको ४८औं मिनेटमा दीपेशको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । उनले विमल घिसिङको पासलाई सुदुपयोग गरे । त्यसअघि विमललाई सिर्जनराज गौतमले बल उपलब्ध गराएका थिए ।

दीपेशले ८०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रात दोब्बर बनाए । अभिषेक लामाको प्रहारलाई रानीवनका गोलकिपर डेनिस थापाले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई दीपेशले सहजै जाली चुमाए ।

विष्णुले ८३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रानीवनलाई खेलमा फर्काउने प्रयास गरेका थिए। भुपाल मगरले दीपक विकलाई फउल गरेपछि रानीवनले पेनाल्टीको अवसर पाएको थियो ।

इन्जुरी समयमा सिर्जनले गोल गर्दै बागमतीलाई ३-१ को जित दिलाए ।