पल्सर स्पोर्टस अवार्ड २०७९

स्पोर्टस अवार्डको प्रारम्भिक मनोनयनमा आठ खेलाडी

काठमाडौं । पल्सर स्पोर्टस अवार्ड २०७९ का लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक गरेको छ ।

अर्को आइतबार हुने अवार्डको २०औं संस्करणका लागि मञ्चले दुवै विधामा उत्कृष्ट आठ खेलाडीको मनोनयन सार्वजनिक गर्यो । विगतमा उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक विधामा पाँच खेलाडीको मात्र मनोनयन हुने गर्द्थ्यो । तर यसपाली पहिलो पटक प्रारम्भिक मनोनयनमा आठ खेलाडी समेटिएको छ ।

पहिलो चरणमा चारै विधामा आठ खेलाडीको मनोनयन गर्ने र त्यसपछि उत्कृष्ट तीनको चयन गर्ने मञ्चले जनाएको छ । वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीहरुको मनोनयन गरिएको मञ्चले जनाएको छ । 

मञ्चले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उत्कृष्ट पुरुष खेलाडीको विधामा क्रिकेटका आसिफ शेख र रोहित पौडेल, एथ्लेटिक्सका दीपक अधिकारी र मुकेश पाल, भलिबलका मानबहादुर श्रेष्ठ, पौडीका नासिर याहा हुसेन, बुद्धिचालका रुपेश जैसवाल र गल्फका सुवास तामाङ परेका छन् ।

यसैगरी उत्कृष्ट महिला खेलाडीको विधामा फुटबलकी अमिशा कार्की, बास्केटबलकी अनुशा मल्ल, पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारु, राजपुरा पछाई र पुश्पा भण्डारी, जुडोकी पुनम श्रेष्ठ र ट्रायाथलनकी श्रेवी महर्जन परेका छन् ।

वर्षका उत्कृष्ट युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि छिटै सार्वजनिक गरिने मञ्चका महासचिव एवं खेलाडी छनोट समितिका संयोजक प्रज्ज्वल ओलीले जनाएका छन् । विभिन्न ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिने अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पिपल्स च्वाइस अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा पनि समावेश छन् ।

उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।